विराटनगर विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ, स्रोत खुलाउन नसकेपछि अनुसन्धान
विराटनगर । विराटनगर विमानस्थलबाट ६ लाख ६५ हजार रुपैयाँ नगदसहित नेपाल सरकारका उपसचिव तथा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति मोरङका कार्यालय प्रमुख मिक्मार तामाङ पक्राउ परेका छन्।
दोलखाको भीमेश्वर नगरपालिका–९ निवासी तामाङ साउन ३ गते बुद्ध एयरको विमानमार्फत विराटनगरबाट काठमाडौं जाने क्रममा पक्राउ परेका हुन्। प्रहरीले घटनाबारे जानकारी भने शुक्रबार सार्वजनिक गरेको हो।
विमानस्थलमा सुरक्षा जाँचका क्रममा तामाङको झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको थियो।
बरामद रकमको स्रोतबारे स्पष्ट जानकारी दिन नसकेपछि विमानस्थल सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाएको थियो।
मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै बरामद नगदको वैधानिक स्रोत पुष्टि हुन नसकेका कारण नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको बताए।
