युएन शान्ति मिसनलाई चीनले जासुसीमा प्रयोग गरेको अमेरिकी सांसदहरूको आरोप, बेइजिङद्वारा अस्वीकार
काठमाडौं । संयुक्त राष्ट्रसंघ (युएन) शान्ति मिसनमा चीनको बढ्दो भूमिकालाई लिएर अमेरिकी सांसदहरूले गम्भीर प्रश्न उठाएका छन्। अमेरिकी संसद् (कंग्रेस)को हाउस फरेन अफेयर्स कमिटीमा भएको सुनुवाइका क्रममा केही सांसदहरूले चीनले युएनको शान्ति मिसनलाई रणनीतिक सूचना संकलन तथा जासुसीका लागि प्रयोग गरिरहेको आरोप लगाए भने चीनले ती आरोपलाई निराधार भन्दै अस्वीकार गरेको छ।
सुनुवाइका क्रममा साउथ क्यारोलिनाकी रिपब्लिकन सांसद शेरी बिग्सले चिनियाँ शान्ति सैनिकहरू रणनीतिक रूपमा संवेदनशील क्षेत्र, बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका करिडोर, बन्दरगाह, खनिज स्रोत तथा सम्भावित सैन्य अड्डा नजिकका क्षेत्रमा केन्द्रित हुने गरेको दाबी गरिन्। उनका अनुसार यसले अमेरिकी रणनीतिक हितमा असर पार्ने गरी सैन्य तथा गुप्तचर गतिविधिको आशंका बढाएको छ।
युएनका लागि अमेरिकी राजदूत माइक वाल्ट्जले पनि चिनियाँ शान्ति सैनिकहरू अन्य देशका तुलनामा राम्रो तयारी र उपकरणसहित परिचालित हुने उल्लेख गर्दै उनीहरूले चिनियाँ कम्युनिस्ट पार्टीका लागि सूचना संकलनको दोहोरो भूमिका निर्वाह गरिरहेको आशंका व्यक्त गरे। यद्यपि यसबारे विस्तृत विवरण सुरक्षित (सेक्योर) ब्रिफिङमा मात्र छलफल गरिने उनले बताए।
वाल्ट्जले अमेरिकाले युएन सुरक्षा परिषद्मा आफ्नो प्रभाव प्रयोग गर्दै दक्षिण सुडानमा रहेको युएन शान्ति मिसनलाई थप प्रभावकारी र सानो बनाउने प्रयास गरिरहेको जानकारी दिए। दक्षिण सुडानमा चीनको ऊर्जा तथा भूराजनीतिक चासो उल्लेखनीय रहेको उनको भनाइ थियो।
सुनुवाइका क्रममा ताइवानको युएन तथा अन्य अन्तर्राष्ट्रिय संस्थामा सहभागिता रोक्ने चीनको प्रयासको पनि चर्चा भयो। वाल्ट्जले अमेरिकी प्रशासनले ताइवानको सहभागिताको पक्षमा निरन्तर आवाज उठाउँदै आएको बताए।
रिपब्लिकन सांसद स्कट पेरीले चीनले बेल्ट एन्ड रोड परियोजनामार्फत ऋण दिएका मुलुकहरूलाई युएन महासभामा आफ्नो पक्षमा मतदान गर्न प्रभाव पारिरहेको आरोप लगाए। उनका अनुसार आर्थिक निर्भरताका कारण ती देशहरूको मतदान व्यवहार बेइजिङतर्फ झुकेको छ।
यद्यपि वाल्ट्जले संस्थागत सुधार आवश्यक भए पनि विश्व समस्यामाथि छलफल गर्न युएन अपरिहार्य मञ्च भएको बताए। उनले अमेरिकाको सक्रिय उपस्थितिबिनाको युएन चीन वा अन्य शक्तिको प्रभावमा जान सक्ने चेतावनी दिए।
यता, वासिङ्टनस्थित चिनियाँ दूतावासले अमेरिकी सांसदहरूको आरोप अस्वीकार गरेको छ। दूतावासका प्रवक्ता लिउ च्याङले ताइवान चीनको आन्तरिक विषय भएको दोहोर्याउँदै विभिन्न मुलुकले युएनमा आफ्नो राष्ट्रिय हितका आधारमा स्वतन्त्र निर्णय गर्ने बताएका छन्। उनले शीतयुद्धकालीन मानसिकताबाट प्रेरित भएर चीनमाथि निराधार आरोप लगाउन नहुने उल्लेख गरे।
यसै सुनुवाइमा राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युएन सुधारसम्बन्धी विषयमा पनि तीव्र बहस भएको थियो। डेमोक्रेट सांसद सेरा ज्याकोब्सले इरानसँगको युद्धपछि अमेरिकी नागरिकको सुरक्षा अवस्था र बढ्दो आर्थिक भारबारे प्रश्न उठाइन्। उनले युद्धको लागत, सैनिकको मृत्यु तथा इन्धनको मूल्यवृद्धिलाई लिएर प्रशासनको आलोचना गरिन्।
जवाफमा वाल्ट्जले इरानसँग आणविक हतियार नभएको अवस्थामा अमेरिका अझ सुरक्षित रहेको दाबी गर्दै ट्रम्पलाई “शान्तिका राष्ट्रपति”को संज्ञा दिए। उनले युएनलाई अमेरिकी हित, अन्तर्राष्ट्रिय शान्ति र साझेदारी प्रवर्द्धन गर्ने महत्वपूर्ण मञ्चका रूपमा व्याख्या गरे।
सुनुवाइका क्रममा अमेरिकी प्रशासनले युएनको बजेटमा करिब १ अर्ब अमेरिकी डलर कटौती गरेको, करिब ४ हजार पद हटाइएको तथा लेबनानसहित केही शान्ति मिसनहरू बन्द गरिएको जानकारी पनि दिइयो। वाल्ट्जले युएनलाई थप प्रभावकारी र उत्तरदायी बनाउन सुधार अभियान जारी रहने बताएका छन्।
