कम्युनिस्ट आन्दोलनका संस्थापक पुष्पलालको ४८औँ स्मृति दिवस आज मनाइँदै
काठमाडौं । नेपाल कम्युनिस्ट आन्दोलनका संस्थापक तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रथम महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टीलगायत विभिन्न कम्युनिस्ट दल तथा सम्बद्ध संगठनहरूले पुष्पलालको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभा, विचार गोष्ठी र अन्य कार्यक्रम आयोजना गरेका छन्।
वि.सं. १९८१ असार १५ गते रामेछापमा पिता भक्तलाल श्रेष्ठ र आमा तुलसीकुमारीका माहिला छोराका रूपमा जन्मिएका पुष्पलाल नेपाली कम्युनिस्ट आन्दोलनका प्रमुख वैचारिक अगुवा मानिन्छन्। उनी शहीद गङ्गालाल श्रेष्ठका भाइ पनि हुन्।
पुष्पलालले कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट मेनिफेस्टो’ पहिलोपटक नेपाली भाषामा अनुवाद गरेका थिए। साथै, विभिन्न पुस्तक र लेखमार्फत नेपाली समाजको वर्गीय विश्लेषण प्रस्तुत गर्दै कम्युनिस्ट आन्दोलनको वैचारिक आधार निर्माणमा महत्वपूर्ण योगदान दिएका थिए।
वि.सं. २००६ वैशाखमा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरेका थिए।
त्यसअघि वि.सं. १९९८ मा प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गरेका उनले पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग संयुक्त जनआन्दोलनको पक्षमा वकालत गरेका थिए।
पुष्पलालको वि.सं. २०३५ साउन ७ गते भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन भएको थियो।
स्मृति दिवसका अवसरमा आज नेकपा (एमाले)को राजधानी प्रदेश कमिटीले विशेष कार्यक्रम आयोजना गरेको छ। अन्य कम्युनिस्ट दल तथा विभिन्न संगठनहरूले पनि पुष्पलालको योगदानको स्मरण गर्दै देशका विभिन्न स्थानमा विविध कार्यक्रम सञ्चालन गरेका छन्।
