रास्वपा सांसद् अरबिन्द साहविरुद्ध फेसबुक पोस्ट गरेका निजामुद्दिन अन्सारी पक्राउ
काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद् अरबिन्द साहविरुद्ध सामाजिक सञ्जालमार्फत विरोध जनाएको आरोपमा बारा निवासी निजामुद्दिन अन्सारी पक्राउ परेका छन्।
सांसद् साहले दिएको उजुरीका आधारमा अन्सारीलाई बुधबार दिउँसो नियन्त्रणमा लिइएको बारा प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले जानकारी दिए। उनका अनुसार अन्सारीलाई आज अदालतमा उपस्थित गराइने तयारी गरिएको छ।
एसपी कुँवरका अनुसार विद्युतीय कारोबार ऐनअन्तर्गत घृणा, द्वेष वा अफवाह फैलाउने प्रकृतिको सामग्रीबारे उजुरी परेपछि कानुनी प्रक्रियाअनुसार नियन्त्रणमा लिइएको हो। उनले कसुरको प्रकृति हेरेर थप कानुनी प्रक्रिया अघि बढाइने बताए।
अन्सारीले फेसबुकमार्फत सांसद् साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै कडा टिप्पणी गरेका थिए। उनले एक पोस्टमा सांसद् साहलाई भेटेको ठाउँमै कालो मसी दल्ने चुनौती दिएका थिए भने अर्को पोस्टमा पनि चुनावी प्रतिबद्धताअनुसार काम नगरेको आरोप लगाउँदै कालो मसी दल्ने चेतावनी दोहोर्याएका थिए।
यद्यपि अन्सारीका एक निकटस्थका अनुसार उनले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरे पनि सांसद् साहविरुद्ध कुनै भौतिक विरोध प्रदर्शन वा प्रत्यक्ष गतिविधिमा सहभागी भएका थिएनन्।
ती निकटस्थले अन्सारीको मातृभाषा नेपाली नभएकाले फेसबुक पोस्टमा भाषागत त्रुटि हुन सक्ने उल्लेख गर्दै केवल सामाजिक सञ्जालमा लेखिएको अभिव्यक्तिकै आधारमा हिरासतमा लिनु आवश्यक थियो कि थिएन भन्ने प्रश्न उठाएका छन्।
