६ मन्त्री पुगे खरिपाटी, भूमिमन्त्री रावलको आश्वासन– ‘भावनामा होइन, कानुनअनुसार सुकुमवासीलाई लालपुर्जा दिन्छौँ’

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन सुकुमवासीलाई कानुनी प्रक्रिया पूरा गरेर मात्र जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताएकी छन्। हतार वा भावुकतामा निर्णय नगरी आगामी पुस्तासम्म कसैले प्रश्न उठाउन नसक्ने गरी स्थायी समाधान गरिने उनको भनाइ छ।

कीर्तिपुरस्थित होल्डिङ सेन्टर शनिबार डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। उनीहरूको अवस्था बुझ्न आइतबार गृहमन्त्री सुधन गुरुङ, भूमिमन्त्री प्रतिभा रावल, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, श्रममन्त्री रामजी यादव र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी खरिपाटी पुगेका थिए।

सुकुमवासीलाई सम्बोधन गर्दै मन्त्री रावलले सरकारले दीर्घकालीन र विवादरहित समाधानका लागि आवश्यक कानुनी प्रक्रिया पूरा गरेर मात्रै लालपुर्जा वितरण गर्ने बताइन्।

‘हचुवाको भरमा लालपुर्जा दिने होइन। भोलि तपाईंहरूको पुस्तौँसम्म कसैले औँला उठाउन नसक्ने गरी नेपाल सरकारले काम गरिरहेको छ। नतिजामुखी कामका लागि केही समय लाग्छ, तर यो काम दिगो हुनेछ,’ उनले भनिन्।

उनका अनुसार असारको तेस्रो सातादेखि बर्दियाबाट लालपुर्जा वितरण प्रक्रिया सुरु भइसकेको छ र आगामी केही साताभित्र अन्य जिल्लामा पनि यो अभियान विस्तार गरिनेछ। वर्षौँदेखि सुकुमवासीको नाममा हुँदै आएको राजनीतिक अभ्यासको अन्त्य गर्दै स्थायी समाधानतर्फ सरकार अघि बढेको उनको दाबी थियो।

रावलले कानुनी प्रक्रिया पूरा नगरी लालपुर्जा वितरण गरिए भविष्यमा अदालतमा मुद्दा परेर वास्तविक लाभग्राही नै समस्यामा पर्न सक्ने चेतावनी दिइन्।

‘आज भावुक भएर लालपुर्जा दिइहालौँला, तर भोलि कसैले मुद्दा हालिदियो भने त्यो खोसिन सक्छ। त्यसैले नागरिकता लगायतका आवश्यक कागजात र विवरण पूरा गर्नुपर्छ। यो तपाईंहरूको अधिकार सुरक्षित गर्नकै लागि हो,’ उनले भनिन्।

कतिपय सुकुमवासीसँग नागरिकता लगायतका आवश्यक कागजात नभएको उल्लेख गर्दै उनले त्यस्ता समस्या समाधान गर्न सरकारी टोली नै सम्बन्धित स्थानमा पुगेर विवरण संकलन गर्ने र प्रक्रिया सहजीकरण गर्ने जानकारी दिइन्।

जग्गाको पहिचान र वास्तविक लाभग्राहीको यकिन गर्नुपर्ने भएकाले प्रक्रिया केही जटिल र संवेदनशील रहेको उल्लेख गर्दै मन्त्री रावलले वास्तविक भूमिहीन सुकुमवासीलाई यथाशीघ्र लालपुर्जा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताइन्।

‘एक हप्तामै लालपुर्जा दिन्छु भन्न सक्दिनँ, तर जति सक्दो चाँडो वास्तविक सुकुमवासीले लालपुर्जा पाउने सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ,’ उनले भनिन्।