सरकारको व्यवहारप्रति रास्वपा सांसद ढकालको असन्तुष्टि, सुकुम्बासी र जेनजी अभियन्तासँग माफी मागे
गुल्मी । गुल्मीबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सागर ढकालले सुकुम्बासी बस्ती र जेनजी अभियन्तामाथि सरकारले गरेको व्यवहारप्रति सार्वजनिक रूपमा माफी मागेका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सरकारबाट भएका कमजोरी स्वीकार्दै आगामी दिनमा धैर्य, तयारी र करुणासहित अघि बढ्नुपर्ने बताएका छन्।
ढकालले जनताले देशलाई अत्यन्तै कठिन र अस्तव्यस्त अवस्थामा नयाँ नेतृत्वको जिम्मा लगाएको उल्लेख गर्दै परिवर्तनको तीव्र अपेक्षा स्वाभाविक भए पनि दीर्घकालीन सुधारका लागि पर्याप्त तयारी, स्पष्ट योजना र दूरदर्शिता आवश्यक पर्ने बताएका छन्।
उनले जनताको पीडा गहिरो रहेको उल्लेख गर्दै धेरै नागरिक रोजगारीका लागि विदेशिन बाध्य भएको, शहरमा संघर्षपूर्ण जीवन बिताइरहेको तथा आर्थिक र स्वास्थ्य समस्याले थलिएको अवस्था रहेको बताएका छन्।
सरकारलाई पाँच वर्षको जनादेश प्राप्त भए पनि तीन महिना नपुग्दै परिणामको अपेक्षा बढेको भन्दै उनले जनताको आकांक्षा स्वाभाविक रहेको बताए। तर, सरकार र जनता दुवैले हतारभन्दा पनि योजनाबद्ध ढंगले अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
उनले विस्तृत योजना र तयारीबिनै ठूला परिवर्तन सम्भव नहुने भन्दै घर निर्माणअघि नक्सा तयार गर्नुपर्ने उदाहरण प्रस्तुत गरेका छन्। देशको समस्यालाई पनि त्यही ढंगले अध्ययन, विश्लेषण र दीर्घकालीन योजनाका आधारमा समाधान गर्नुपर्ने उनको भनाइ छ।
सुकुम्बासी बस्तीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै ढकालले जेनजी अभियन्तामाथि सरकारको तर्फबाट भएको व्यवहार पनि पीडादायी रहेको बताएका छन्। उनले देशमा आत्महत्याका घटना बढ्दै गएको उल्लेख गर्दै यस्तो अवस्थाले आफूलाई गम्भीर बनाएको बताएका छन्।
पोस्टको अन्त्यमा उनले आफूबाट भएका कमी–कमजोरीप्रति सम्पूर्ण नेपाली जनतासँग क्षमायाचना गर्दै सरकार सफल बनाउन सबैले धैर्य, करुणा र जिम्मेवारीका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
