स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत क्वार्टरफाइनलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा सम्पन्न खेलको निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले दुई गोल थप्दै प्रभावशाली जित निकाल्यो।
अतिरिक्त समयको १२०औँ मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। त्यसअघि अतिरिक्त समयमै जुलियन अल्भारेजले टोलीका लागि दोस्रो गोल गरेका थिए।
खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए।
पहिलो हाफ १–० को अग्रतासहित टुंग्याएको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्डले दोस्रो हाफको ६७औँ मिनेटमा आर. रोड्रिगेजमार्फत बराबरी गोल फर्काएको थियो।
स्विट्जरल्यान्डले खेलको उत्तरार्ध १० खेलाडीमा सीमित भएर खेल्नुपरेको थियो। अर्जेन्टिनाका खेलाडीमाथि फाउल गरेपछि बी. इम्बोलालाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए।
