सात पूर्वराजदूतको सरकारलाई प्रश्न –‘के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौं ?’
काठमाडौं । चीनका लागि नेपालका सात पूर्वराजदूतहरूले नेपालको परराष्ट्र नीतिप्रति संवेदनशील हुन सरकारलाई आग्रह गर्दै ‘के नेपालको एक चीन नीति बदलिएको हो ?’ भन्ने प्रश्न उठाएका छन्।
नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको अवसरमा संयुक्त वक्तव्य जारी गर्दै पूर्वराजदूतहरूले पछिल्लो समय देखिएका केही गतिविधिले नेपालको स्थापित परराष्ट्र नीतिबारे अनावश्यक प्रश्न उठाउने अवस्था सिर्जना भएको बताएका छन्।
चीनका लागि पूर्वराजदूतहरू राजेश्वर आचार्य, महेश मास्के, महेन्द्र पाण्डे, लीलामणि पौडेल, टंक कार्की, विष्णु पुकार श्रेष्ठ र कृष्णप्रसाद ओली ले शुक्रबार जारी गरेको संयुक्त प्रेस वक्तव्यमा नागार्जुनस्थित नामग्याल विद्यालयमा १४औं दलाई लामा को ९१औँ जन्मदिन मनाइएको तथा उक्त कार्यक्रममा विदेशी नियोगका प्रतिनिधिहरूको सहभागिताप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
उनीहरूले नेपाल सरकारले अवलम्बन गर्दै आएको एक चीन नीतिप्रतिको प्रतिबद्धता दृढतापूर्वक कार्यान्वयन गर्न आग्रह गर्दै, नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पर्ने गतिविधि हुन नदिने नीति निरन्तर पालना हुँदै आएको स्मरण गराएका छन्।
वक्तव्यमा हालै परराष्ट्रमन्त्री शिशिर खनाल को चीन भ्रमणका क्रममा पनि नेपालले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याएको उल्लेख गरिएको छ। त्यसै सन्दर्भमा, नामग्याल विद्यालयमा भएको कार्यक्रम सरकारको सहमतिमा आयोजना भएको हो भने त्यसले नेपालले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना भएदेखि अवलम्बन गर्दै आएको नीतिविपरीत सन्देश जान सक्ने उनीहरूको भनाइ छ।
पूर्वराजदूतहरूले वक्तव्यमा प्रश्न गरेका छन्, “नेपालले सधैं दृढतापूर्वक एक चीन नीति अपनाउँदै आएको, नेपालको भूमिबाट कुनै पनि मित्रराष्ट्रविरुद्ध प्रतिकूल असर पार्ने गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै आएको र परराष्ट्रमन्त्रीको हालैको चीन भ्रमणमा समेत दोहोर्याइएको प्रतिबद्धतामा परिवर्तन आएको हो? के हामीले छिमेकीसँगको परराष्ट्र नीति बदलेका हौं?”
उनीहरूले यस्ता गतिविधिले नेपालले अवलम्बन गर्दै आएको भूराजनीतिक सन्तुलनमा प्रतिकूल असर पार्न सक्ने, साथै देशको स्थायित्व, विकास र स्वतन्त्रताका लागि प्रत्युत्पादक हुन सक्ने चेतावनी दिएका छन्।
पूर्वराजदूतहरूले सरकार तथा सबै सरोकारवालालाई यस्ता विषयमा सतर्क र जिम्मेवार बन्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि नदोहोरिने सुनिश्चितता गर्न तथा छिमेकी मुलुकसँगको सम्बन्धमा उच्च संवेदनशीलता अपनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।
वक्तव्यमा नेपालको घोषित परराष्ट्र नीतिलाई व्यवहारमा दृढतापूर्वक कार्यान्वयन गर्दै नेपाल–चीन सम्बन्धसँग जोडिएका संवेदनशील विषयमा विशेष सावधानी अपनाउन सरकारसँग आग्रह गरिएको छ।
