मानवअधिकार आयोगको निर्णय सच्याउन केपी ओलीका तर्फबाट निवेदन दर्ता
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रिय मानवअधिकार आयोगको निर्णय नं. १७७ सच्याउन माग गर्दै आयोगमा औपचारिक निवेदन दर्ता गरिएको छ।
बिहीबार आयोगको कार्यालय हरिहरभवन, पुल्चोकमा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलाई भेटेर एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले उक्त निवेदन दर्ता गरेका हुन्।
निवेदनमा २०८२ साल भदौ २३ र २४ गतेको घटनासम्बन्धी आयोगको निर्णय नं. १७७ संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका स्थापित मान्यता र सिद्धान्तसँग मेल नखाने, पूर्वाग्रहपूर्ण तथा असंवैधानिक रहेको दाबी गर्दै उक्त सिफारिस सच्याउन माग गरिएको छ।
त्यस्तै, यसअघि अध्यक्ष ओलीका तर्फबाट आयोगसँग माग गरिएका कागजात तथा प्रतिवेदनको प्रतिलिपि पूर्ण रूपमा उपलब्ध नगराइएको उल्लेख गर्दै उक्त घटनाको छानबिनका लागि लिली थापाको नेतृत्वमा गठित समितिले आयोगसमक्ष पेस गरेको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि माग गरिएको छ।
निवेदनमा उक्त प्रतिवेदनका कुन-कुन अंश आयोगले स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको, त्यसरी निर्णय गर्दा अपनाइएका आधार र कारणसम्बन्धी सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन आग्रह गरिएको छ।
यसैगरी, आयोगबाट यस विषयमा थप कुनै छानबिन, अनुसन्धान वा अध्ययन गरिएको भए त्यससँग सम्बन्धित प्रतिवेदन, कागजात तथा अन्य सम्बन्धित अभिलेखहरूको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन निवेदनमार्फत माग गरिएको महेश बर्तौलाले जानकारी दिएका छन्।
