इरानबाट आफ्नो ज्यान जोखिममा रहेको ट्रम्पको दाबी, अमेरिका र इरानबीच हवाई आक्रमण जारी
काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले आफू सधैं सुरक्षा जोखिममा रहेको र इरानको ‘हिटलिस्ट’ को शीर्ष स्थानमा आफ्नो नाम रहेको दाबी गरेका छन्।
एयर फोर्स वान विमानमा यात्रा गर्ने क्रममा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानी पक्षबाट आफूलाई निरन्तर सुरक्षा चुनौती रहेको बताएका हुन्। उडानका क्रममा पत्रकारहरूलाई विमानका झ्यालका पर्दा बन्द राख्न निर्देशन दिइएको विषयमा सोधिएको प्रश्नको जवाफ दिँदै उनले, “यो उडान जोखिमपूर्ण हुन सक्छ। उनीहरू खतरनाक मानिस हुन्। म सधैं खतरामा हुन्छु र मेरो नाम उनीहरूको सूचीको पहिलो नम्बरमा छ,” भने।
ठट्टाको शैलीमा उनले पत्रकारहरूलाई सम्बोधन गर्दै, “यदि मलाई केही भयो भने तपाईंहरू पनि सुरक्षित रहनुहुन्न। सायद कुनै दिन आफ्नो पेसा परिवर्तन गर्नेबारे सोच्नुपर्ने हुन सक्छ,” समेत बताएका थिए।
यता, अमेरिका र इरानबीचको तनाव फेरि चर्किएको छ। अमेरिकी सेनाले शान्ति समझदारीपछि लगातार दोस्रो दिन इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। अमेरिकी आक्रमण दक्षिणपूर्वी इरानका कोनारक, चाबहारलगायतका क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ।
इरानी सरकारी समाचार संस्था आईआरएनएका अनुसार दक्षिणपूर्वी इरानस्थित इरानसहर विमानस्थलमा भएको आक्रमणमा एक अग्नि नियन्त्रकको मृत्यु भएको छ।
सिस्तान–बलुचिस्तान प्रान्तका स्थानीय अधिकारीहरूले बुधबार राति स्थानीय समयअनुसार करिब १२:३० बजे सहरभरि चारवटा ठूला विस्फोटको आवाज सुनिएको बताएका छन्।
त्यसैगरी, इरानको प्रमुख समुद्री बन्दरगाह रहेको चाबहार क्षेत्रमा अमेरिकी आक्रमणपछि सुरक्षा सतर्कता बढाइएको छ। चाबहार फ्रि जोनका अधिकारीहरूका अनुसार गोदाम क्षेत्रमा रहेका करिब ३०० सवारीसाधन सुरक्षित स्थानमा सारिएको छ भने बाँकी करिब १०० सवारीसाधन पनि हटाउने कार्य जारी रहेको छ।
यसअघि मंगलबार पनि अमेरिकाले इरानका ८० भन्दा बढी सैन्य अड्डालाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो। अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) ले होर्मुज जलडमरूमध्य क्षेत्रमा जहाजमाथि भएका आक्रमणको प्रत्युत्तरस्वरूप ती कारबाही गरिएको जनाएको थियो।
यसअघि नेटो शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले इरानविरुद्ध थप ठूलो सैन्य कारबाही गरिने चेतावनी दिएका थिए। साथै, उनले इरानसँग द्वन्द्व अन्त्यका लागि भएको पूर्वसमझदारी अब समाप्त भएको घोषणा गरेका थिए।
