मोरक्कोलाई २–० ले हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न क्वार्टरफाइनलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गर्दै लगातार तेस्रो पटक सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको बोस्टन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेले एक–एक गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गरेको हो।

खेलको २५औँ मिनेटमा मोरक्कोका नुसाएर माजराउईले पेनाल्टी क्षेत्रभित्र एमबाप्पेलाई फल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो। तर २८औँ मिनेटमा एमबाप्पेको प्रहार मोरक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरे।

दोस्रो हाफको ६०औँ मिनेटमा डिजायर डुएको पासमा एमबाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको छ मिनेटपछि एमबाप्पेकै पासमा उसमान डेम्बेलेले गोल गर्दै फ्रान्सको जित पक्का गरे।

यससँगै सन् २०१८ को विश्व विजेता तथा २०२२ को उपविजेता फ्रान्स लगातार तेस्रो संस्करणमा विश्वकपको सेमिफाइनलमा पुगेको छ। उता, अन्तर्राष्ट्रिय फुटबलमा मोरक्कोको लगातार ३४ खेलको अपराजित यात्रा पनि यही हारसँगै अन्त्य भएको छ।

अब फ्रान्सले फाइनल प्रवेशका लागि स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

एमबाप्पेले यस खेलसँगै जारी विश्वकपमा आफ्नो गोल संख्या ८ पुर्‍याएका छन्। उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको गोल संख्या बराबरी गरेका छन्। यद्यपि एमबाप्पेको नाममा ३ असिस्ट रहेकाले गोलमा प्रत्यक्ष योगदानका आधारमा उनी मेसीभन्दा अगाडि छन्। मेसीले पनि ८ गोल गरेका छन् भने उनको नाममा १ असिस्ट छ।

विश्वकप इतिहासमा एमबाप्पेको कुल गोल संख्या २० पुगेको छ, जुन मेसीको भन्दा केवल एक गोल कम हो।