प्रधानमन्त्री ओलीको दुई तिहाई सपना !
यस्तो छ २०७४ को निर्वाचन परिणाम
काठमाडौं । ०७४ मंसिरमा भएको निर्वाचनमा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गरेका थिए । कुल १ सय ६५ निर्वाचन क्षेत्रमध्ये बाम तालमेलबाट माओवादीले समानुपातिकसहित कुल ५३ सिट जित हासिल गरेको थियो । यसैगरी नेकपा एमालेले प्रत्यक्षतर्फ ८० ंर समानुपातिकतर्फ ४१ गरी कुल १ सय २१ सीट जितेको हो । नेपाली काँग्रेसले प्रत्यक्ष र समानुपातिक गरी कुल ६३ सिटमा चुनाव जितेको हो । कतिपय जिल्लामा १ हजार देखि १५ सय मतअन्तरले चुनाव जित हार भएका छन् । उदाहरणका लागि एउटै निर्वाचन क्षेत्र रहेको संखुवासभा जिल्लामा तत्कालीन नेकपा एमालेका उम्मेदवार राजेन्द्र गौतमले कांग्रेसबाट प्रतिस्पर्धी बनेका दीपक खड्कालाई जम्मा १ हजार १ सय ३० मतले चुनाव हराएका थिए ।
यस्तै, मोरङ निर्वाचन क्षेत्र ६ बाट नेकपा एमालेका लालबाबु पण्डितले नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई १ हजार ६ सय ७५ मत अन्तरले पराजित गरेका हुन् । यसैगरी हाल ओली सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रहेका भानुभक्त ढकालले मोरङ ३ नम्वर निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवारलाई १ हजार ७ सय मतले मात्रै पछाडि पारेका थिए । हाल ओली सरकारमा वनमन्त्री रहेका प्रेमबहादुर आलेले एक मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरलाई जम्मा १ हजार ६ सय ३२ मतले चुनाव हराएका थिए । यति थोरै मतान्तरमा वाम गठबन्धनले चुनाव जितेपछि मुलुकभर बामपन्थीको चुनावी लहर छाएको थियो । उक्त निर्वाचनमा जीवनराम श्रेष्ठ, दीपकप्रकाश भट्टलगायत दर्जनभन्दा बढी एमाले सांसदहरु झिनो अर्थात ३ देखि ४ सयको मतान्तरका साथ चुनाव जित्न सफल भएका थिए ।
०७४ मा भएको निर्वाचनमा एमाले १०३ क्षेत्रमा निर्वाचन लडेको थियो । नेकपा माओवादी र एमालेले चुनावी तालमेल गरेका कारण माओवादी भने ५९ क्षेत्रमा मात्र चुनाव लडेको थियो । २३ फागुनमा सर्वोच्च अदालतको फैसलाले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्युँताइदिएको छ । अब हुने चुनावमा माओवादीले १ सय ६५ वटै निर्वाचन क्षेत्रबाट अलग्गै उम्मेदवारी दिनेछ । हाल सत्तारुढ दल नेकपा एमालेमा पनि बिभाजन आइसकेको छ । अब निर्वाचनमा केपी ओली अध्यक्ष रहेको एमालेले अलग्गै उम्मेदवार उठाउने छ भने माधवकुमार नेपाल–झलनाथ खनालका अलग्गै उम्मेदवार हुने भए ।
केपी ओली अध्यक्ष रहेको पार्टीबाट माधव नेपालपक्षीय लोकप्रिय नेताले अव टिकट पाउने छैनन् भने माधव नेपालतिर रहेका ओलीपक्षीय नेताहरुले पनि टिकट पाउन मुश्किल छ । ती नेताहरु कि निस्क्रिय हुन्छन्, कि त विद्रोह गर्ने निश्चित छ । यसो हुँदा हाल सत्तामा रहेको सबैभन्दा ठुलो पार्टी दावी गर्ने प्रधानमन्त्री केपी ओलीलाई दुई तिहाई त सपना मात्रै हो संसदभित्र दोस्रो पार्टीको हैसियत कायम गर्न पनि गाह्रो छ । कम्युनिष्टहरुको यही हालत रहिरहने र यही अवस्थामा चुनाव भयोे भने त नेपाली कांग्रेस पहिलो र जसपा दोस्रो हुने अवस्था छ ।
प्रधानमन्त्री केपी ओलीमा यही घमण्डपन रहिरहेको खण्डमा इमान्दार नेता र कार्यकर्ताहरु पाखा लाग्दै जाने र जीवनभर दरवारको चाकडीमा बिताएकी कोमल वलीजस्ता ‘सेलीब्रेटी’ हरूले मात्र टिकट पाउने अवस्था हुनेछ । त्यसपछि त चुनाव घोषणा हुनासाथ नेपाली कांग्रेसका उम्मेदवारहरुले मत परिणाम नआउँदै पहिल्यै पूmलमाला लगाउन तयार भएर बसे हुन्छ ।
यो कुरा प्रधानमन्त्री ओलीलाई थाहा नहुने कुरै छैन । तर पनि उनी नेता तथा कार्यकर्ता र पार्टीलाई मिलाएर लैजाने पक्षमा भन्दा पनि कारवाही गरेर हटाउन सक्रिय छन् । केहीदिन अगाडि माधव नेपाल र भिम रावललाई कारवाही गरेका ओलीले गत बिहिवार नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि कारवाहीको डण्डा चलाएका छन् ।
यस्तो छ समानुपातिक परिणाम ?
२०६३ को संबिधान अनुसार जनताले राजनीतिक दलहरुलाई छनोट गरेर भोट दिन पाउने व्यवस्था छ । जसअनुसार संबिधान जारी भएपछि ०७४ मा भएको चुनावमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली जनताले राजनीतिक दललाई मत दिए । जनताले राजनीतिक दललाई रोजेर मतदान गर्ने प्रक्रियालाई हेर्दा नेपाली कांग्रेसभन्दा एमाले जम्मा ४५ हजार १ सय ८ मतले मात्रै पछाडि हो ।
नेकपा एमालेले समानुपातिकतर्फ ३१ लाख ७३ हजार ४ सय ९४ मत पाएको थियो । यस्तै त्यो बेला नेपाली कांग्रेसले ३१ लाख २८ हजार ३ सय ८९ पाएको हो । नेकपा माओवादी र एमालेको गठबन्धन हुँदा माओवादीले पाएको १३ लाख ३७ हजार २१ मत हो । यो मत पार्टी एकीकरण पछि जोडिँदा नेकपा गत फागुन २३ गतेसम्म ४४ लाख ७७ हजार २ सय १५ मतको धनी रहेको थियो । सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्र अलग अलग भएपछि अहिले स्थिति फरक हुन पुगेको छ ।
नेकपा एमाले बिभाजनको आखिरीतिर पुगिसकेको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको निर्वाचन मोहले यतिवेला नेकपा एमाले र माओवादी भन्दा पनि कांग्रेस र जसपा उत्साहित भएका छन् । गत निर्वाचनमा दलीय आधारमा आउने मतमा बामपन्थी दलहरु भन्दा नेपाली कांग्रेस धेरै बलियो रहेको परिणामले बताएको छ ।
यतिवेला सत्तारुढ दल आन्तरिक किचलोमा फस्दै गएको छ । नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएको अवस्थामा नेपाली काँग्रेसलाई यसै पनि फाइदा हुन्छ नै । त्यसमाथि राजनीतिक रुपमा सरकार कमजोर बनेको र प्रतिपक्षमा बसेर सरकारलाई गाली गर्दा पाइने मतको फाइदा पनि नेपाली काँग्रेसलाई हुने भएको छ । यही बिषयलाई मध्यनजर गर्दै सरकार गठनतिर भन्दा पनि काँग्रेस चुनावतिर नै आँखा लगाइरहेको छ । अस्थायी वा म्यादी प्रधानमन्त्री खानुभन्दा यतिवेला कम्युनिष्टहरू छिन्नभिन्न र फुटेकै बेला चुनाव भयो भने प्रचण्ड बहुमत ल्याउन सकिने उसको बुझाई छ । यही कारण र यही अवस्थामा प्रधानमन्त्री हुने दाउमा शेरबहादुर देउवा अगाडि नबढेको प्रस्टरुपमा बुभ्mन सकिन्छ ।
०७४ को निर्वाचनमा झिनो मतान्तरले नेपाली काँग्रेसका हस्ति नेताहरु नराम्रोसँग पराजित भएका थिए । त्यसरी पराजित हुनेहरुमा रामचन्द्र पौडेल, शेखर कोइराला, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, रमेश लेखक, दिलेन्द्र बडूसहित थुप्रै हस्तीहरू थिए । अब चुनाव हुँदा उनीहरुको जित सुनिश्चित जस्तै छ । यी माथि उल्लेखितबाहेक अरु थुप्रै नेताहरुले ५ सय देखि १ हजार मतअन्तरले चुनाव हारेका छन् ।
कम्युनिष्ट पार्टीहरु अलग अलग भएर चुनाव लड्दा ५०–६० सीट नेपाली काँग्रेसको यसै पनि स्वतः बढ्ने देखिन्छ । मुलुकको राजनीतिक परिस्थिति यस्तो छ भन्ने कुरामा प्रधानमन्त्री ओली अझ बढि जानकार छन् । तर पनि उनी निर्धारित समयभन्दा अगाडि कस्का लागि चुनाव गर्न हतारिएका छन् । उनको दल र सरकारमा रहेका मन्त्रीहरुले पनि भेउ पाउन सकिरहेका छैनन् । उनी आफु चुनाव जित्नेमा ढुक्क छन् । पार्टीका अरु नेताहरु जो सुकैको जे सुकै होस् त्यतातिर प्रधानमन्त्री ओलीले मतलव गरेका छैनन् ।
