एकसाथ १६५ वटा सडकको शिलान्यास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार स्वीच थिचेर १६५ वटा सडकको एकैपटक शिलान्यास गरेका छन् । संघीय निर्वाचनका १ सय ६५ वटै क्षेत्रमा एक÷एक सडकका दरले सडक शुभारम्भ गरिएको हो । सडक प्रत्यक्ष निर्वाचित सांसदले सिफारिस गरेका थिए ।
प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट १६५ वटा सडकको शिलान्यास गरेका हुन । सो अवसरमा आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको उनले जानकारी दिए । ६२८ वटा सडक पुल (झोलुङ्गे पुल वाहेक) निर्माण भएको पनि उनले बतएका छन् । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलान्यास गरेका सडकका काम ढिला नगर्न आग्रह पनि गरेका छन् ।
प्रत्यक्ष निर्वाचित सांसदहरुले निश्चित क्राइटेरियाका आधारमा सिफारिस गरेका सडकहरु छनौट भएका हुन । सडक निर्माण कार्यक्रमका लागि सरकारले ५७ अर्ब १० करोड बजेट छुट्याएको छ ।
सांसदहरुले ठूलो दरमा स्थानीय पूर्वाधार विकास कार्यक्रममा बजेट मागेपछि चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले एक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने गरी कार्यक्रम ल्याएको थियो ।
यो वर्ष सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड बजेट छुट्याएको छ । बहुवर्षीय ठेक्का अन्तर्गत बन्ने यस्ता अधिकांश सडकहरुको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र वातावरणीय अध्ययन तयार भएको छैन ।
गत फागुनमा प्रधानमन्त्री ओलीले मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा बन्ने ३१ वटा पुलको पनि एकैपटक शिलान्यास गरेका थिए ।
‘प्रतिदिन साढे ६ किलोमिटर बाटो निर्माण’
भौतिक योजना तथा पूर्वधारमन्त्री वसन्त नेम्वाङले पछिल्लो समय नेपालमा हरेक दिन साढे ६ किलोमिटर सडक निर्माण भएको बताएका छन् ।
निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम सुभारम्भ समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले संघीय सरकारले मात्रै साढे ६ किलोमिटर बाटो निर्माण गरेको बताएका हुन् ।
उनले केपी शर्मा ओली नेतृत्वका सरकार गठनका तीन वर्षमा ६२८ वटा पुल निर्माण भएको पनि बताएका छन् । उनले प्रत्येक दुई दिनमा एक पुल निर्माण भएको दावी पनि गरेका छन् ।
