राजपा र समाजवादी सडकमा जाँदै
काठमाडौं । सरकारसँग चरम असन्तुष्टि व्यक्त गर्दै समर्थन समेत फिर्ता गरेको राष्ट्रिय जनता पार्टी नेपालले पुनः विरोध कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ । संविधान संशोधनमा सरकारले चासो नदेखाएको भन्दै राजपा आन्दोलित हुन लागेको एक नेताले बताएका छन् ।
सांसद रेशम चौधरीलाई जन्मकैदको सजाय सुनाएपनि राजनीतिक निर्णय गरेर उनलाई रिहा गर्नुपर्ने राजपाको अडान छ । राजपाका नेता राजेन्द्र महतोले अब सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने बताएका छन् ।
वर्षदिनसम्म पनि आफ्ना मागहरुप्रति सरकारले चासो नदेखाएको भन्दै संविधान संशोधन नभएमा परिस्थिति विकट हुने संकेत महतोले गरेका छन् । तराई घटनाका बारेमा छानविन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा बनेको आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पनि राजपाको माग छ ।
त्यस्तै सरकारमै सहभागी भएको समाजवादी पार्टी नेपाल पनि सरकारसँग सन्तुष्ट छैन । सरकारमा सहभागी हुनु अघि भएको सम्झौता कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेको सो पार्टी कुनै पनि बेला सरकार परित्याग गर्न सक्ने मानसिकतामा देखिएको सो पार्टीका नेताहरुको अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।
सरकार छाड्ने विषयमा सो पार्टीका नेता, कार्यकर्ताबीच भने मतभेद छ । केही नेताहरु सरकारमै बसेर आफ्ना माग पूरा गर्नुपर्ने पक्षमा देखिएका छन् भने धेरैजसो नेताहरु सरकारम बसेर माग पूरा नहुने भन्दै सडकमा जानुपर्ने बताइरहेका छन् ।
पार्टी अध्यक्ष बाबुराम भट्टराई सरकार परित्याग गर्नुपर्छ भनिरहेका छन् भने उपप्रधानमन्त्रीसहित सरकारमा पार्टीको नेतृत्व गरिरहेका अर्का अध्यक्ष उपेन्द्र यादवले आलटाल गरिरहेको बताइन्छ ।
पुस २१ गते उपेन्द्र यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई भेटेर विगतमा भएका सहमति पालना गर्न ज्ञापन पत्र दिएको थियो । फोरम समाजवादी पार्टीमा रुपान्तरित भइसके पनि उसका पुराना माग बदलिएका छैनन् ।
सरकारले आफ्नो कुरा नसुनेको भन्दै सरकारमै सामेल दल र प्रतिपक्षीहरु आक्रामक देखिन थालेका छन् भने सत्तारुढ दलकै मुख्य नेताहरुले समेत असन्तुष्टि जनाइरहेको स्थिति छ । यसले गर्दा सरकार बाहिरबाट मात्र होइन, आन्तरिक रुपमा समेत कमजोर हुँदै गएको देखिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
यसैवीच सर्लाही र महोत्तरीमा हालैको घटनामा प्रहरीले दमन गरेको भन्दै मानवअधिकारको रक्षा गर्न राष्ट्रिय जनता पार्टीले राष्ट्रिय मानवअधिकार आयोगको ढोका ढक्ढक्याएको छ । केही दिनअघि राजपा अध्यक्ष मण्डलको टोलीले आयोगका अध्यक्ष अनुपराज शर्मालाई भेटी शान्तिपूर्ण विरोधमा जम्मा भएका सर्वसाधारण जनता माथि गोली चलाएर सरकारले दमन गरेको आरोप लगाउँदै मानवअधिकारको रक्षाको पहल गर्न अनुरोध गरेका छन् ।
असार १५ गते पूर्वपश्चिम राजमार्गको सर्लाही जिल्लाको बाँके चोकमा शान्तिपूर्ण विरोध प्रदर्शनमा आएका सर्वसाधारणलाई प्रहरीले गोली चलाउँदा ईश्वरपुर नगरपालिका वडा नं १३ का २६ वर्षीय सरोज नारायण सिंहको मृत्यु भएको थियो ।
अध्यक्ष शर्माले छानविन आयोग गठन गर्न सरकारलाई दबाब दिनुपर्ने बताएका छन् भने पछिल्ला केही घटनामा शान्तिपूर्ण बिरोध प्रदर्शनमा प्रहरीले अत्याधिक बल प्रयोग गर्न थालेको आरोप लगाएका छन् ।
सरकार र मानवअधिकार आयोगका बीच चिसो बढिरहेका बेला आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारलाई दवाव दिए मात्र समस्याको समाधान गर्न चासो देखाउने गरेको आरोप लगाएका छन् ।
राजपाले उक्त घटनाले देशको सुरक्षा निकायमा मधेसी अनुहारप्रतिको घृणा र द्वेषको भाव अझै कायम रहेको देखिएको आरोप लगाएको छ । ‘मधेसमा सामान्य झडप र विवादमा पनि प्रहरीद्वारा ताकेर टाउकोमा गोली हानेर हत्या गर्नु राज्यको मधेसी समुदायमाथि दशकौंदेखि गर्दै आइरहेको व्यवहारको निरन्तरता नै रहेको हाम्रो बुझाई छ’ राजपाले मानव अधिकार आयोगमा दिएको पत्रमा भनिएको छ ।
