सह–पाइलटको आक्रमणपछि विमान जोगाउउन सफल क्याप्टेन मच्छरको ट्रम्प, मोदी र नेतान्याहुद्वारा प्रशंसा
काठमाडौं । दुबईबाट तेल अभिभका लागि उडेको फ्लाईदुबईको विमानमा सह–पाइलटले क्याप्टेनमाथि आक्रमण गरेपछि सम्भावित ठूलो दुर्घटना रोक्न भूमिका खेलेका भारतीय क्याप्टेन स्मित मच्छरको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रशंसा गरेका छन्।
फ्लाईदुबईको एफजेड१०७३ उडानमा सह–पाइलटले ककपिटभित्र क्याप्टेन मच्छरमाथि छुरा प्रहार गरेपछि विमान करिब एक मिनेटमै १७ हजार फिट तल झरेको बताइएको छ। त्यसपछि यात्रु र चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिएपछि विमानलाई साउदी अरेबियाको तबुकमा आकस्मिक अवतरण गराइएको थियो।
विमानमा रहेका सबै १७४ जना सुरक्षित रहेको फ्लाईदुबईले जनाएको छ। सञ्चारमाध्यमका अनुसार तीमध्ये १६६ जना इजरायली नागरिक थिए।
गम्भीर घाइते भए पनि क्याप्टेन मच्छरले ककपिटको ढोका खोल्न सफल भएको र यात्रुहरूले सह–पाइलटलाई नियन्त्रणमा लिन सहयोग गरेको बताइएको छ। एक इजरायली यात्रुले कुनै उडान अनुभव नभए पनि ककपिटमा पुगेर आक्रमणकारीलाई पाइलटको सिटबाट हटाउन सहयोग गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले क्याप्टेन मच्छरको साहसको प्रशंसा गर्दै घटनाबारे इजरायली प्रधानमन्त्री नेतान्याहुसँग कुराकानी गरेको बताएका छन्। उनले आक्रमणकारी सम्भावित आतंकवादी वा असामान्य व्यक्ति हुन सक्ने टिप्पणी गरेका छन्।
भारतीय प्रधानमन्त्री मोदीले पनि क्याप्टेन मच्छरलाई ‘नायक’ भन्दै गम्भीर खतराका बीच अरूको जीवन जोगाउन देखाएको साहस र दृढताको प्रशंसा गरेका छन्। उनले क्याप्टेन मच्छरको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
इजरायली प्रधानमन्त्री नेतान्याहुले समेत क्याप्टेन मच्छरको बहादुरीको प्रशंसा गर्दै सम्भावित ठूलो दुर्घटना रोक्न उनले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। उनले यात्रु यानिव हयुनको समेत प्रशंसा गर्दै उनलाई ‘साँचो नायक’ भनेका छन्।
इजरायलको विदेश मन्त्रालयले घटनामा विमानमा रहेका १७४ जनाको ज्यान जोगाउन क्याप्टेन, यात्रु र चालक दलका सदस्यको संयुक्त प्रयास महत्वपूर्ण भएको जनाएको छ।
भारतीय दूतावास तथा भारतका लागि इजरायली राजदूत रुभेन अजारले पनि क्याप्टेन मच्छरको साहस, संयम र कर्तव्यप्रतिको समर्पणको प्रशंसा गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
इजरायली विदेश मन्त्रालयले घटनालाई इजरायल र संयुक्त अरब इमिरेट्सबीचको सम्बन्ध बिगार्ने उद्देश्यले गरिएको ‘आतंकवादी आक्रमणको प्रयास’ भनेको छ। रक्षामन्त्री इजरायल काट्जले पनि घटनालाई ‘जिहादी आतंकवादी आक्रमणको प्रयास’ बताएका छन्। यद्यपि घटनाको अनुसन्धान जारी रहेकाले आक्रमणको उद्देश्य र घटनाको प्रकृतिबारे थप विवरण अनुसन्धानबाट स्पष्ट हुने बताइएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय क्याप्टेन मच्छर मुम्बईका हुन्। उनीसँग बोइङ–७३७ विमानमा १३ वर्षभन्दा बढीको व्यावसायिक उडान अनुभव रहेको र करिब ९ हजार ७५० घण्टा उडान गरिसकेको बताइएको छ। उनले फ्लाईदुबईमा आबद्ध हुनुअघि भारतीय एयरलाइन्समा करिब ११ वर्ष काम गरेका थिए।
घटनाको अनुसन्धान भइरहेकाले फ्लाईदुबईले इजरायल जाने तथा इजरायलबाट हुने उडान अस्थायी रूपमा स्थगित गरेको जनाएको छ।
