भारतको दबाबले विषादी जाँच रोकियो

काठमाडौँं । नेपाल आउने विषादियुक्त तरकारी र फलफूल जाँच नगर्न भारतले चर्को दवाव दिएपछि जाँच गर्ने कार्य रोकिएको छ । भारतीय दूतावासले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएर भारतीय उत्पादनमा कुनै पनि किसिमको जाँच नगर्न दवाव दिएको थियो ।
सरकारले नयाँ व्यवस्था गरेर भैरहवा, वीरगञ्ज, काँकरभिट्टा, विराटनगरलगायतका नाकामा विषादीको मात्रा परीक्षण गर्न थालेपछि भारत रुष्ट भएको थियो । खाद्यलगायतका सामग्री निर्वाध रुपमा नेपाल भित्रिन पाउनुपर्ने भारतको तर्क थियो ।
सरकारले विषादी परीक्षण नगर्न दवाव दिनु गलत भएको भन्दै नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सरकारले विषादी परीक्षण गर्न पाउनुपर्ने र परीक्षण गरिरहने बिहीबार बताएका थिए । तर बिहीबारकै मन्त्रिपरिषद् वैठकले भारतबाट नेपाल भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने पूर्ववत आफ्नै निर्णय परिवर्तन गरेको छ । मन्त्रिपरिषद् बैठकले सीमा नाकामा विषादी जाँच नगर्ने निर्णय गरेसँगै नेपाली जनता विषादी सहितको तरकारी तथा फलफूल खान वाध्य भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा विषादी जाँच नगर्ने निर्णय भएको बताइएको छ । गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो । ६ महिनामा आवश्यक पूर्वाधार तयार गरेर परीक्षण शुरु हुने एक उच्च अधिकारीले बताएका छन् । अहिले विषादी परीक्षणका लागि आवश्यक पूर्वाधार, जनशक्ति र प्रविधि कम भएकाले परीक्षणका लागि समय लाग्दा तरकारी तथा फलफूल कुहिने अवस्था आएकाले हाललाई स्थगित गरिएको ती अधिकारीले बताएका छन् ।
कालीमाटी बजारमा आउने तरकारी तथा फलफूल ४४ प्रतिशत भारतबाटै आउँछ । बाँकी ५६ प्रतिशत बजार स्थानीय उत्पादनले ओगटेको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा २६ अर्ब ४६ करोड ७५ लाख रूपैयाँ बराबरको तरकारी र १७ अर्ब ३ करोड ९६ लाखको फलफूल आयात भएको छ भने नेपालबाट यही अवधिमा १ अर्ब २२ करोड ९९ लाख बराबरको मात्र तरकारी तथा फलफूल निर्यात भएको रेकर्ड छ ।