प्रहरीको वढुवा सधै विवाद

काठमाडौं । नेपाल प्रहरीमा हुने सरुवा, वढुवा जहिले पनि विवादमा पर्ने गरेको छ । नीतिगत स्पष्टता नभएको र राजनीतिक दवाव हुने गरेको भन्दै हरेक पटक पदोन्नतिका बेला नेपाल प्रहरी, सशस्त्र प्रहरी संगठनमा विवाद आउने गरेको छ ।
यसैबीच केही दिनअघि एसएसपी विश्वराज पोखरेललाई डीआईजी पदका लागि वढुवाको लागि गरिएको सिफारिस पनि विवादित बनेको छ । पोखरेल भन्दा सिनियर व्याचका एसएसपीहरुको वढुवा नभएको तर उनको मात्रै कसरी हुन लाग्यो भन्ने प्रश्न गर्दै नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्मा र एआईजी ठूले राई सदस्य रहेको वढुवा समितिले पोखरेललाई पदोन्नतिका लागि सिफारिस गरेको हो । ६ महिनादेखि डीआईजीको एउटा पद रिक्त रहेपनि विवादका कारण पदोन्नति गर्न विलम्व भइरहेको थियो ।
सरकारले पोखरेललाई नै वढुवा गर्न आईजीपी सर्वेन्द्र खनाललाई दवाव दिएको चर्चा पनि गृहमन्त्रालय र प्रहरी प्रधानकार्यालयमा चलिरहेको छ ।
त्यस्तै नेपाल प्रहरीमा व्यापक हेरफेरको तयारी भएको र राजनीतिक शक्ति केन्द्रको दवाव र प्रभावमा पदोन्नति र राम्रो ठाउँमा सरुवा हुने होडबाजी शुरु भएको बुझिएको छ । आइजीपीका दावेदारका रुपमा चिनिएका सूर्यप्रसाद उपाध्याय, ठाकुर ज्ञवाली र तारणी लम्सालहरु प्रदेश प्रमुखको जिम्मेवारी लिएर त्यसपछि पदोन्नति हुने चाँजोपाजो मिलाइरहेको स्रोतको दावी छ ।
पद्मुम्न कार्की, विनोद शर्मा, पूर्णचन्द्र जोशी, हरिभक्त प्रजातापति, विकास श्रेष्ठ लगायतका डीआईजीहरु प्रहरीको प्रदेश प्रमुख भएर पदोन्नतिका लागि तयारी गर्ने मनस्थितिमा देखिएका छन् ।
यस्तै सशस्त्र प्रहरीमा पनि आइजीपी बन्न होडबाजी शुरु भएको छ । पुष्पराम केसीले एआईजीबाट आईजीपी बन्ने प्रवल इच्छा व्यक्त गर्दै सक्रियता बढाएको हलचोकस्रोतको दावी छ ।
शुरुदेखि नै राजनीतिको छायामा परेका दुवै प्रहरी संगठनमा ज्येष्ठता र श्रेष्ठता भन्दा पनि राजनीतिक दवाव, भनसुन र शक्ति केन्द्रको चाकडी पदोन्नतिको आधार बनेकाले संगठनकै छवि धमिल्याउने गरी एकअर्काबीच आरोपप्रत्यारोप गर्नेदेखि शक्तिकेन्द्रमा धाउने होडबाजी समेत चल्ने गरेको उच्चपदस्थ प्रहरीहरुले नै स्वीकारेका छन् । सुरक्षाविद्हरुले प्रहरी संगठनलाई व्यवसायिक, मर्यादित र स्वच्छ राख्न र निष्पक्ष कार्यसम्पादन गर्न दिनका लागि राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने बताउँदै आएका छन् ।