हावाहुरी पीडितको पालमा बास, कहिले हट्ला त्रास
काठमाडौं । चैत १७ गते बारा पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावित जनता पालमा बस्न वाध्य छन् । उखरमाउलो गर्मी, मच्चडको गनगन, सर्पको डर, वर्षाको पीरका बीच रात काट्न वाध्य छन् हावाहुरी पीडितहरु ।
सरकारले घर निर्माणको जिम्मा सेनालाई दिएको र हिजो आवास निार्मणको शिलान्यास भएकाले पीडितहरुमा केही आश पलाएको छ । बाराको फेटा गाउँपालिका–६ पुरनियाँमा आवास निर्माण कार्ययोजनाको शिलान्यास गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले हावाहुरीबाट पीडित जनताको घर निर्माण कार्यलाई प्राथमिकता आश्वासन दिएका छन् ।
पीडित जनताको आवास निर्माणमा नेपाली सेनाले कुनै कमी राख्न नहुने पनि बताएका छन् । बारा पर्साको १२ ठाउँमा सो आवासको एकै पटक शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शिलान्यास कार्यक्रम हुने भनिए पनि विशेष कारणले प्रधानमन्त्री आउन नसक्नु भएको मन्त्री पोखरेलले जानकारी दिएकाछन् ।
उपप्रधानमन्त्री पोखरेलले प्रारम्भ गरिएको जनता आवासमा कुनै किसिमको ढिलाइ नगरी वर्षा अगाडिनै आवास निर्माण गर्न सेनालाई निर्देशन दिए । सो आवास निर्माण गर्दा केही समस्या आए प्रदेश र स्थानीय सरकार मिलेर समाधान गर्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले सेनाले निर्माण गर्ने जनता आवास कार्यक्रममा स्थानीय, प्रदेश सरकारसहित सबैको सहयोग रहने बताए ।
उनले हावाहुरी प्रभावित परिवारलाई घर बनाउँदा जग्गाको अभाव भए प्रक्रियागत रुपमा ऐलानी र प्रति जग्गा उपलब्ध गर्नसमेत निर्देशन दिए । उपप्रधानमन्त्री पोखरेलले सबै मिलेर एकताबद्ध भई आपत्विपत्मा परेका जनताको समस्या समाधान गर्न सबै एक हुनुपर्ने बताए ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावतले हावाहुरी प्रभावित परिवारको लागि सङ्घीय सरकारले गरेको काम स्वागतयोग्य रहेको बताएका छन् ।
सो कार्यक्रममा उपप्रधान, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, खानेपानीमन्त्री वीना मगर, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापालगायतको उपस्थित रहेको थियो ।
