सय वर्षे दुलाहाले १०२ वर्षे दुलही भित्र्याए
प्रेमलाई जात, धर्म, उमेरले छेक्दैन भन्ने भनाइलाई अमेरिकाका एक जोडीले चरितार्थ गरेका छन् । अमेरिकाको ओहियोस्थित सय वर्षका जोनले १ सय २ वर्षकी फिलिस कुकसँग विवाह गरेका छन् । उनीहरुबीच एक वर्षअघिदेखि प्रेम रहेको बताइएको छ । उनीहरुबीच गत वर्ष किंग्सटन रेसिडेन्स नामको वृद्धाश्रममा भेट भएपछि भएको दोस्ती समयसँगै प्रेममा परिणत भएको बताइएको छ । एक–अर्कालाई डेट गर्न थालेका उनीहरुबीच गत बुधबार विवाह भएको बताइएको छ ।
जोनले दोस्रो विश्वयुद्ध लडेका थिए । उनी भर्खरै सय वर्ष पुगेका हुन् । अगस्ट ८ मा फिलिस १ सय ३ वर्ष पुग्नेछिन् । उनकी आमा १ सय ६ वर्ष बाँचेकी थिइन् । करिब १० वर्षअघि उनकी श्रीमतीको निधन भएको थियो । यस्तै, फिलिसका श्रीमानको १५ वर्षअघि निधन भएको थियो । श्रीमानको निधनपछि नै उनी वृद्धाश्रममा बस्न थालिन् ।
त्यही वृद्धाश्रममा गत वर्ष जोन पनि आएपछि आफूहरु प्रेममा परेको फिलिसले बताइन् । नवविवाहित जोडीले राम्रो सम्बन्धको कडी के हो भन्ने प्रश्नमा उत्तर दिए, ‘एक–अर्काप्रतिको सम्मानले नै सम्बन्धलाई दिगो बनाउँछ ।’
