वडा अधिवेशनमा सहभागी हुन देउवाको अपिल, भने– महाधिवेशनबाटै मतभेद समाधान गरौँ
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएका मतभेद र असमझदारीलाई १५औँ महाधिवेशनमार्फत समाधान गर्दै पार्टीलाई थप सुदृढ बनाउनुपर्ने बताएका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत अपिल जारी गर्दै देउवाले आजदेखि सुरु हुने वडा अधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन्।
उनले कांग्रेसको झण्डै आठ दशक लामो इतिहासमा १५औँ महाधिवेशन महत्वपूर्ण रहेको उल्लेख गर्दै पार्टीभित्रका मतभेदलाई लोकतान्त्रिक विधि र प्रक्रियाबाट समाधान गर्नुपर्ने बताएका छन्।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, पूर्ण प्रेस स्वतन्त्रता र विधिको शासन स्थापनाका लागि कांग्रेसले गरेको त्याग, बलिदान र संघर्षलाई थप मजबुत बनाउन महाधिवेशन महत्वपूर्ण हुने देउवाको भनाइ छ।
देशभरका ६ हजार ७ सय ४३ वडामा विधि र प्रक्रिया पूरा गरी हुने वडा अधिवेशनमा हर्षोल्लासका साथ सहभागी भएर सफल बनाउन उनले नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।
देउवा समूहले १५औँ महाधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु गर्दैछ। समूहले आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका निर्वाचन आयोगलाई जानकारी गराएको छ।
