‘हजार जुनी सम्म’को प्रदर्शन मिति सर्यो

काठमाडौं । चलचित्र ‘हजार जुनी सम्म’ को प्रदर्शन मिति एक साता पछि सरेको छ । साउन ३० गतेलाई प्रदर्शन मिति तय गरेको सो चलचित्र भदौ ६ गते मात्र प्रदर्शन हुने बताइएको छ । साउन ३० मा रिलिज हुन लागेको बलिउड चलचित्र ‘साहो’को प्रभावका कारण ‘हजार जुनी सम्म’लाई एक साता पछि सारिएको स्रोतको दावी छ ।
विकासराज आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन सिग्देल, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्रको प्रदर्शन मिति सरेसँगै ‘जाइरा’सँग भिडन्त हुने भएको छ । ‘जाइरा’को यूनिटले लामो समयदेखि भदौ ६ लाई प्रदर्शन मिति तय गरेको थियो ।
चलचित्रमा नम्रता श्रेष्ठ, अनुप विक्रम शाही लगायतको मुख्य भूमिका छ । ‘हजार जुनी सम्म’मा लभस्टोरी चलचित्र हो भने ‘जाइरा’ लभ स्टोरी र मार्सल आर्टको कथामा तयार भएको छ । नेपालमा बलिउड चलचित्रको प्रभाव ठूलो छ । ठूला बलिउड चलचित्र नेपालमा रिलिज हुँदा नेपाली चलचित्र पछि सर्ने गरेका छन् । ‘हजार जुनी सम्म’को निर्माण टिमलाई पनि यही मनोविज्ञानले प्रभाव पारेको छ ।