नेकपाको सैद्धान्तिक लाइन नै अन्यौलमा

ओलीलाई घेराबन्दी गर्दै माधव–प्रचण्ड

काठमाडौं । नेकपाको राजनीतिक प्रतिवेदनलाई लिएर भइरहेको दुई पक्षबीचको विवाद झन् बढ्दै गएको छ । ‘जनताको वहुदलीय जनवाद’ लाई ‘जनताको जनवाद’ भन्ने नयाँ परिभाषा दिएर केपी ओली र पुष्पकमल दाहालले भाषा परिमार्जन गरेपनि पार्टीको सैद्धान्तिक लाइनका बारेमा अन्योल देखिएको भन्दै कैयन् नेताहरु असन्तुष्ट भएका छन् ।
माओवादी र एमाले पृष्ठभूमिका नेताहरुले राजनीतिक कार्यदिशा आप्mनै स्वार्थ अनुसार हुनुपर्ने अडान लिएपछि शुरु भएको विवाद तल्लो तहसम्म छलफलको विषय भइरहेको छ । यसले सचिवालय वैठकमा निकै विवाद सिर्जना गर्ने देखिन्छ ।
कार्यदिशा र मार्गदर्शक सिद्धान्त महाधिवेशनसम्म स्थगित गरेर जाने सहमति भएको छ भने डाइभर्सन रोडका रुपमा अहिले ‘जनताको जनवाद’लाई कार्यदिशा बनाइएको छ । यो भनेको अस्थायी सिद्धान्त र दर्शन हो । स्थायी समिति र सचिवालयले समेत दाहाल र ओलीको सहमतिलाई अनुमोदन गरेको छ । तर राजनीतिक प्रतिवेदन सार्वजनिक गरिएको छैन । सोही कारणले नेकपाभित्र राजनीतिक कार्यदिशालाई लिएर विवाद देखिएको हो ।
मस्यौदा प्रतिवेदनमा महाधिवेशनकालसम्म अन्तरिमकालिन कार्यदिशा बनाउने सहमति भएको थिएन । तर दुई अध्यक्षले आफूखुशी निर्णय गरेको भन्दै प्रतिवेदन प्रकाशित गरे लगत्तै सचिवालय वैठक बोलाएर त्यसको छिनोफानो गरिने भएको छ ।
सचिवालय वैठकले जुनसुकै निर्णय गरेपनि पार्टीमा माओवादी र एमाले पृष्ठभूमिका नेताहरुबीच ध्रुविकरण बढ्दै जाने आशंका गरिएको छ । दाहाल र ओलीले आफ्नो डक्ट्रिनको रुपमा पार्टीको कार्यदिशालाई निजी बनाउन खोजेको आरोप लागिरहेको छ ।
कम्युनिष्ट मुलुकहरुमा पार्टीको कार्यदिशालाई अत्यन्त महत्वपूर्ण मानिन्छ र त्यसबारे महिनौसम्म छलफल हुने गरेको पुराना कम्युनिष्ट नेताहरु बताउँछन् । तर नेकपामा दुई अध्यक्षले खस्याक–खुसुक गरेर कार्यदिशा पास गराउन खोजेको आरोप लगाइएको छ । यसले अध्यक्षद्वयप्रति थप आशंका जन्माएको अवस्था छ ।
वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई टुङ्गोमा पु¥याउने काममा ढिलाइ हुँदै गएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । जुन उमङ्ग र जोशका साथ पार्टी एकता प्रक्रिया अगाडि बढाइएको थियो त्यो अनुरुप काम नहुँदा पार्टी एकीकरण ढिलाइ भएको उनले बताएका छन् ।
पार्टीको नेतृत्वपङ्क्ति नै एकता प्रक्रियामा गम्भीर भएर नलाग्दा समस्या आएको उनको आरोप छ । पार्टी एकीकरण ढिलाइले कार्यकर्तामा निराशा छाएको बताउँदै उनले लामो समयदेखि एकताका सवालमा पार्टी केन्द्रीय कमिटीको बैठकसमेत बस्न नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । उनले सरकारले सही ढंगले काम नगरेको विश्लेषण गर्दै जनताका समस्याका बारेमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।
माधव नेपाल मात्र होइन, झलनाथ खनाल, वामदेव गौतम, भीम रावल, विरोध खतिवडा, घनश्याम भुषाललगायतका कैयन् नेता प्रम तथा पार्टी अध्यक्ष केपी ओलीको व्यवहारसँग असन्तुष्ट देखिएका छन् । एकातिर पुष्पकमल दाहाल ओलीलाई विस्थापित गर्ने रणनीतिमा लागेको देखिन्छ भने अर्कातिर माधव नेपाललाई अघि सारेर ओलीलाई तह लगाउने रणनीति अनुसार मोर्चाबन्दी गरिरहेको अवस्था छ ।
दाहालले आफ्नो मोर्चामा नेपाल मात्र होइन, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाल, घनश्याम भुषाल, योगेश भट्टराईलगायतका कैयन् नेतालाई आकर्षित गर्न खोजिरहेका छन् । पार्टीको एकलौटी अध्यक्ष बन्ने दाहालको रणनीति देखिन्छ भने यसका निम्ति माधव नेपाललाई प्रधानमन्त्री बनाउन दाहालले पार्टीका विभिन्न नेतासँग सम्वाद गरिरहेको बुझिएको छ ।
दुई ठाउँमा चुनाव हारेपनि भारतको प्रभावमा प्रधानमन्त्री बन्न पुगेका माधव नेपाल अहिले पनि पश्चिमा राष्ट्र र दिल्लीको प्रिय पात्र मानिएको आरोप लागिरहेको छ । यता केपी ओलीले भारतको समेत विश्वास गुमाउँदै गएको आरोप लागिरहेको छ । उनलाई चीनले शंकाको नजरले हेर्ने र पश्चिमा राष्ट्रहरुले पनि अप्ठ्यारो पार्ने सम्भावना देखिएको राजनीतिक विश्लेषकहरुको तर्क छ ।