प्रधानमन्त्रीले ‘भ्यागुताको कथा’ सुनाएपछि ‘बर्बराए’ बाबुराम
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभिन्न पार्टी परित्याग गरेका नेताहरु प्रवेश गरेका छन् । माओवादी पृष्ठभूमि हुँदै बाबुराम भटट्राईको पार्टीमा रहेकी कल्पना धमला र उनका पति देवेन्द्र पराजुली समेत नेकपामा प्रवेश गरेका छन् । संघीय समाजवादी फोरमसँग एकता गरेर समाजवादी पार्टी गठन गरेपछि उनीहरु बाबुराम भट्टराईसँग रुष्ट भएका थिए ।
भटट्राई प्रधानमन्त्री छँदा कल्पना विज्ञान तथा प्रविधि मन्त्री थिइन् भने पराजुली माओवादीको विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् । उनीहरुलाई शुक्रबार पार्टी कार्यालय धुम्वाराहीमा एक कार्यक्रमका बीच अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले स्वागत गरेका छन् ।
त्यस्तै मनाङको चुनाव क्षेत्र ‘ख’बाट निर्वाचित गण्डकी प्रदेशका एक मात्र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) पनि नेकपामा प्रवेश गरेका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले पार्टीमा स्वागत गरेका हुन् । निकै लामो विवादपछि उनले निर्वाचित भएको १६ महिनापछि २०७५ माघ १४ गते प्रदेशका सभामुख नेत्रनाथ अधिकारीबाट सांसदको शपथ लिएका थिए ।
मनाङे प्रदेशको अर्थ तथा विकास समितिको सदस्यको जिम्मेवारीमा समेत छन् भने उनको प्रवेशसँगै गण्डकी प्रदेशसभामा नेकपाको दुईतिहाई पुगेको छ । गण्डकी प्रदेशसभामा नेकपाको प्रतिनिधित्व ४० पुगेको छ भने कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एक निधन), नयाँ शक्ति २ छन् ।
यस्तै विप्लव समूह कास्की सचिवालय सदस्य पुष्प कार्की समेत पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका छन् । उनलाई समेत मुख्यमन्त्री गुरुङले स्वागत गरेका हुन् ।
शुक्रबार पार्टी मुख्यालय धुम्बाराहीमा तत्कालीन नयाँ शक्तिका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन नयाँ शक्ति नेपाल पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री (हाल समाजवादी पार्टीका अध्यक्ष) डा. बाबुराम भट्टराईप्रति ब्यंग गरेका थिए ।
ओलीले डा. भट्टराईप्रति संकेत गर्दै देशमा पीएचडी गरेका व्यक्तिहरु धेरै भए पनि तीमध्ये केही व्यक्तिहरु भने आफूमात्रै पीएचडीवाला भएजस्तै गरी हिँड्ने गरेको बताएका थिए ।
ओलीले भ्यागुताको कथा सुनाउँदै बाबुरामप्रति व्यंग गर्दै भनेका थिए– ‘यहाँ कोही पीएचडीवाला आफूमात्रै हुँ भन्ने पनि छन् । तर, त्यस्तो होइन । एउटा भ्यागुतोको बच्चाले एक दिन गाईको बाछो देखेछ । गाईको बाछो उसलाई निकै ठूलो लागेछ, अनि गएर आफ्नो आमासँग भनेछ– आज मैले धेरै ठूलो जनावर देखे । आफ्नो बच्चाले ठूलो जनावर देखेपछि आमालाई पनि कौतुहलता लागेछ र भूँडी फुलाउँदै जनावरजजस्तै हुने प्रयास गर्दा गर्दै भूँडी नै फुटेर मरेछ, त्यस्तो नहोस् ।’
प्रधानमन्त्री ओलीले डा. भट्टराईलाई नेकपामा आउन आव्हान समेत गरे । दुई तिहाइ अटेको कम्युनिस्ट पार्टीमा सिंगो समाजवादी पार्टी पनि अट्ने उल्लेख गर्दै ओलीले सवैलाई नेकपामा आएर देश बनाउने कार्यको भागीदार हुन आव्हान गरेका थिए ।
सोही समारोहमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई सबै मिलेर सशक्त बनाउनुपर्ने बताएका छन् । अध्यक्ष प्रचण्डले कम्युनिस्ट आन्दोलनकै बलमा मुलुक शान्ति प्रक्रियामा आएको र नयाँ संविधान जारी भएको भन्दै त्यसलाई जोगाउन सबै एकढिक्का भएर अघि बढ्नुपर्ने बताएका छन् ।
अध्यक्ष प्रचण्डले कम्युनिस्ट विचारधारा बोकेर अघि बढ्ने सबै शक्ति एक ठाउँमा हुनुको विकल्प नरहेको र त्यो चाँडै पूरा हुने पनि दाबी गरेका छन् ।
अध्यक्ष प्रचण्डले कम्युनिस्ट विचार राख्ने सबै नेता कार्यकर्तालाई नेकपामा स्वागत गर्न आफू आतूर रहेको पनि बताए । उनले पूराना नेताहरुलाई पनि एकताबद्ध गरेर अघि बढ्न चाहेको भन्दै मोहन विक्रम सिंह, चित्रबहादुर केसीलाई कसरी सम्मान गर्दा कम्युनिस्ट आन्दोलन अघि बढ्ला भन्ने सोचिरहेको बताए ।
प्रचण्डले भक्तपुरका रोहित (नेमकिपाका नारायणमान विजुक्छे) पनि नेकपामा हुनुपर्ने बताएका छन् । अब सबै मिलेर विकास र समृद्धिका लागि अघि बढ्नुपर्ने बताए ।
मोहन बैद्यलाई पनि आफूले सम्झाउन खोजिरहेको प्रचण्डले बताएका छन् । ‘प्रचण्डले बाटो बिरायो हामी सही बाटोमा छौं भनेर विप्लवहरु अहिले एउटा बाटोमा हिडेको बताउँदै उनले त्यो उनीहरुको गल्ती भएको बताएका छन् । प्रचण्डले पनि बाबुराम भट्टराईको बौद्धिकता नेकपा बाहिर गएर सार्थक नहुने बताए । प्रचण्डले भने, ‘बाबुरामजीको बौद्धिकता अन्त कतै गएर सकारात्मक परिवर्तन होला जस्तो लाग्दैन । उहाँको पीएचडीको महत्व रहने भनेको कम्युनिस्ट आन्दोलनमा मात्रै हो ।’
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको आव्हानलाई डा. भट्टराईले ट्वीट मार्फत जवाफ फर्काएका छन् । डा. भट्टराईले प्रश्न गर्दै भनेका छन्, ‘कमरेड दीपक मनांगे जस्ता ‘बौद्धिक’ भएको ‘कमाउनिस्ट’ पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ?’
