नयाँ शक्ति र संघीय समाजवादी फोरमको एकता किन ?
काठमाडौं । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी पार्टी र डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टी मिलेर समाजवादी पार्टी नेपाल बन्ने भएको छ । नेकपाको जस्तै भट्टराई र यादव दुवै अध्यक्ष हुने भएका छन् । भोलि दुई पार्टी एक हुने र ६ महिना भित्रैमा महाधिवेशन सम्पन्न गर्ने तयारीमा लाग्ने बताइएको छ ।
शनिबार दुई पार्टीबीच भएको छलफलबाट एकीकरणको मिति टुंगो लागेको बताइएको छ ।
एकीकरण गर्ने समझदारीपछि यादव र भट्टराईले संयुक्त वक्तब्य जारी गर्दै विगत केही समयदेखिको छलफल र विचार विमर्शपछि दुई पार्टीबीच एकीकरण गरेर समाजवादी पार्टी नेपाल बनाउने ऐतिहासिक समझदारी भएको उल्लेख गरेका छन् ।
एकीकृत पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ ।
राजपा, जनमुक्ति पार्टीलगायत साना १० वटा पार्टी मिलेर समाजवादी पार्टी नेपालमा बनाउने बारेमा नेताहरु नयाँ शक्ति पार्टीको कार्यालयमा बिहीबार छलफल भएको थियो । छलफलमा राजेन्द्र महतो, महन्थ ठाकर, उपेन्द्र यादव, बाबुराम भटट्राई र उमेश थापालगायतका नेता त्यसमा सहभागि थिए । तर उनीहरुबीच कुरा मिल्न नसकेपछि नयाँ शक्ति र संघीय समाजवादी पार्टीबीच मात्र एकता हुने भएको छ । यी दुई पार्टीको मात्र एकताले तत्कालका लागि ठूलो फाइदा हुने देखिदैन । सैद्धान्तिक, वैचारिक र संगठनात्मक लगायतका विषयमा राजपा समेत एकीकृत भएको भए संसदमा उनीहरु पहिले भन्दा शक्तिशाली हुने थिए । जसले गर्दा वार्गेनिङ पावर समेत बढाउन सक्ने ।
दुई पार्टीको एकताले संसदमा खासै निर्णायक भूमिका खेल्न नसकेपनि संविधान संशोधनलगायतका विभिन्न विषयमा हुने आन्दोलनमा सहभागिता बढाउन भने मद्दत पुग्ने देखिन्छ ।
सत्तारुढ दललाई चीनपरस्त भन्दै आएको भारतले नेपालमा राजनीतिक स्थिरता हुन नदिन राजनीतिक शक्तिहरुलाई फुटाउने देखि आफ्नो स्वार्थमा प्रयोग गर्नका लागि एकता गराउने काम पनि गर्दै आएको आरोप लाग्दै आएका बखत यी दुई पार्टीको एकतालाई पनि केहीले विदेशी शक्तिकै हात रहेको आरोप लगाउन थालेका छन् ।
बेलावखत आफ्नै किसिमले खेल खेल्ने भारतले २००७ सालपछि मातृकाप्रसाद कोइराला र वीपी कोइरालाबीच फुट ल्याउन सफल भएको थियो भने पछिल्ला दिनहरुमा समेत पञ्चहरुमा समेत दिल्लीकै स्वार्थमा जुट्ने र फुट्ने गरेको पुराना राजनीतिज्ञहरुको टिप्पणी छ ।
२०४६ सालपछि पनि राजतन्त्र समर्थक पार्टी भनेर चिनिएको राप्रपालाई फुटाएर सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले अलगअलग पार्टीको नेतृत्व गर्ने अवस्था सिर्जना गरिएको थियो । पशुपति शमशेर राणा, कमल थापा र प्रकाशचन्द्र लोहनीबीच एकता हुन नदिन पनि वाह्य शक्तिले खेलेको आरोप लागिरहेको छ ।
यस्तै सत्तारुढ दलभित्र देखिएको कचिंगलमा पनि नेपाली जनमानसकै प्रतिध्वनि छ भन्ने अवस्था देखिदैन । प्रमुख विपक्षी दल कांग्रेसभित्र पनि त्यस्तै समस्या देखिएको छ । तसर्थ कुन दल कहिले फुट्छन् र कहिले जुट्छन् भन्ने कुरा सदैव अनिश्चित हुने गरेको छ भने यस्तो ध्रुविकरणले नेपाली राजनीतिलाई सुदृढ बनाउँछ भन्ने आशा गर्न पनि सकिदैन ।
