दाल भात तरकारीलाई एक्लो अवसर
काठमाडौं । चलचित्र ‘दाल भात तरकारी’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । अधिकांश हप्ता दुईदेखि चार वटासम्म फिल्म चल्दै आएका हलमा यो हप्ता भने ‘दाल भात तरकारी’ ले एकलौटी प्रदर्शनको अवसर पाएको छ ।
चलचित्र आफैमा राम्रो बनेको र एकलौटी अवसर पनि पाएकाले उक्त फिल्मले व्यावसायिक सफलता हासिल गर्ने अनुमान गरिएको छ ।
सुदन केसीले निर्देशन गरेको फिल्ममा वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, किरण केसी लगायतका कलाकारको प्रमुख भूमिका देख्न सकिन्छ ।
विदेश जान ‘मरिहत्ते’ गर्ने परिवारको कथामा आधारित फिल्मलाई हास्य कलाकार हरिवंश आचार्यले लेखेका हुन् ।
जायजेथा नै धितो राखेर विदेश पलायन हुने संस्कार नेता तथा दलालहरूमा देखिएको ब्यभिचारीपनलाई फिल्ममार्फत् व्यंग्य गरिएको कलाकार आचार्यले बताएका छन् ।
फिल्मले क्यूएफएक्स अन्तर्गत राजधानीका पाँच स्टेशनमा २० ‘सो’ को मौका पाएको छ । मह जोडीको ब्यानरमा निर्माण भएको फिल्मले सफलता प्राप्त गर्ने अधिकांश फिल्मकर्मीको बुझाइ छ ।
