सामूहिक आलुखेतीमा महिला
दमौली- गत वर्षसम्म व्यक्तिगत रुपमा आलुखेती गर्दै आएका तनहुँको भीमाद नगरपालिका-९ जौपानीका महिलाले पुसको दोस्रो सातादेखि सामूहिक आलुखेती शुरु गरेका छन् । जौपानी आमा समूहमा आवद्ध २० महिलाले आठ रोपनी क्षेत्रफलमा सामूहिक आलुखेती शुरु गरेको स्थानीयवासी लक्ष्मी क्षेत्रीले जानकारी दिए । आमा समूहमा आवद्ध महिलाको जग्गामा नै सामूहिक आलुखेती शुरु गरिएको उनले जानकारी दिए । उनका अनुसार सो ठाउँमा ५५० केजी आलुको बीउ रोपिएको छ ।
नगरपालिकाले सामूहिक आलुखेतीको लागि प्राविधिक सहयोग समेत गरेको छ । सामूहिक आलुखेती गर्दा काममा समेत सहजता हुने क्षेत्रीले बताए । कसैले मल बोक्ने, कसैले डल्ला फोर्ने गर्दा रमाइलोका साथै काम गर्न समेत सहज हुने रहेछ । वडाध्यक्ष इमान थापाले सामूहिक आलु खेतीका लागि नगरपालिकाले बीउ खरिदमा रु एक लाख सहयोग गरेको जानकारी दिए ।
यसैगरी तनहुँको म्याग्दे गाउँपालिकाका महिलासमेत सामूहिक आलु खेतीतर्फ आकर्षित भएका छन् । सो गाउँपालिकास्थित जामुने, धयरे, थर्पु, मनहरि, शेराफाँट र छाङपाटनमा महिलाले सामूहिक आलुखेती गरेका छन् । म्याग्दे-३ धयरेका शोभा अधिकारीले सामूहिक आलुखेती गर्दा सजिलो हुने गरेको बताए ।
