सुत्केरी आमाहरुलाई प्रोत्साहन रकम

पाल्पा (माथागढी । सुत्केरी आमाहरुलाई प्रोत्साहन रकम वितरण गरिएको छ । झडेवा स्वास्थ्य चौकीको आयोजना र माथागढी गाउँपालिको आर्थिक सहयोगमा प्रोत्साहन रकम वितरण गरिएको हो । गाउँपालिकाले सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत वडा ४ झडेवाका १५ जना सुत्केरी आमाहरुलाई एक कार्यक्रमका बीच दुई हजार पाँच सयका दरले प्रोत्साहन रकम वितरण गरेको छ ।
रकम वितरण कार्यक्रमका प्रमुख अतिथि तथा कार्यपालिकाका सदस्य सावित्र पन्थी र वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मधु पराजुलीले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै प्रमुख अतिथि तथा कार्यपालिका सदस्य पन्थीले गाउँपालिकालाई सुरक्षित मातृत्व बनाउने अभियान अनुरुप गाउँपालिकाले सुत्केरी महिलाहरुलाई प्रोत्साहन रकम वितरण गरेको बताइन् ।
वडा अध्यक्ष तथा गापाका प्रवक्ता पराजुलीले शुन्य होमडेलीभरी गाउँपालिका बनाई आमा र शिशुको ज्यानलाई बचाउन प्रसुति प्रोत्साहन रकम वितरण गरिएको बताए । उनले परम्परागत संस्कति अनुरुप घरमै शुत्केरी गराउँदा आमा र शिशुको ज्यान जोखिममा पर्ने भएकाले त्यसलाई निरुत्साहित गर्न गाउँपालिका र वडा कार्यालय अभियानकै रुपमा लागेको जानकारी दिए । अध्यक्ष पराजुलीले सम्पूर्ण आमाहरुलाई स्वास्थ्य संस्थाहरुमा गएर सुत्केरी हुन समेत आग्रह गरे ।
कार्यक्रममा झडेवा स्वास्थ्य चौकीका स्वास्थ्य प्रमुख केशव जिसीले प्रोत्साहन कार्यक्रमले महिलाहरुमा स्वास्थ्य संस्थामा गएर गर्भ जाँच गराउने र बच्चा जन्माउन प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे । प्रोत्साहन रकम बुझे पछि सुत्केरी आमाहरु हर्षित भएका छन् । गाउँपालिकाले प्रोत्साहन स्वरुप स्वास्थ्य चौकी र अस्पतालमा सुत्केरी हुने आमाहरुका लागि दुई हजार पाँच सय रुपैयाँ प्रोत्साहन भत्ता प्रदान गर्दै आएको छ ।