फ्रान्सको राजधानी पेरिसमा आइतबार विश्व युद्धमा मारिएका अज्ञात सैनिकहरुको सम्झना गरिदै
फ्रान्समा- प्रथम विश्वयुद्ध समाप्त भएको शताब्दी पुगेको अवसरमा फ्रान्समा विशेष कार्यक्रम भएको छ । कार्यक्रममा विश्वभरका नेताहरु सहभागी भएका छन् ।
यहि कार्यक्रमका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एंगेला मर्केलसहितका नेताहरु फ्रान्समा छन् ।
पहिलो विश्वयुद्ध समाप्त भएको १०० वर्ष पूरा भएको छ । सन् १९१४ को जुलाई २८ देखि सुरु भएको पहिलो विश्वयुद्ध सन् १९१८ को नोभेम्बर ११ अर्थात ठ्याक्कै १०० वर्षअघि समाप्त भएको थियो ।
युरोपमा सुरु भएर फैलिएको पहिलो विश्वयुद्ध विश्वको पहिलो सबैभन्दा ठूलो हिंसात्मक युद्धको रुपमा रहेका छ ।
युद्ध अन्त्यका लागि तत्कालीन समयमा संलग्न प्रमुख देशका नेताबिच एउटा रेलमा भएको छलफलमा सहमति बनेको थियो र युद्ध अन्त्य गर्ने सम्झौता भएको थियो । त्यसकै सम्झना स्वरुप फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मन चान्सलर मर्केलले पहिलो विश्वयुद्धको स्मृति पुस्तिकामा रेलमै बसेर हस्ताक्षर गरेका छन् ।
फ्रान्स भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकी नागरिकको समाधी स्थलमा आयोजित कार्यक्रम खराब मौसमका कारण रद्द गरेका थिए । यसको आलोचना भयो ।
फ्रान्सको राजधानी पेरिसमा आइतबार विश्व युद्धमा मारिएका अज्ञात सैनिकहरुको सम्झनामा हुने विशेष कार्यक्रमको नेतृत्व फ्रान्सेली राष्ट्रपति म्याक्रोनले गर्ने छन् । यो कार्यक्रममा विश्वका ७० भन्दा बढी देशका नेता सहभागी हुँदैछन् ।
चार वर्ष तीन महिना दुई हप्ता चलेको पहिलो विश्वयुद्धका कारण करिब ९० लाख सैनिक तथा ७० लाख सर्वसाधारणको ज्यान गएको थियो ।
विश्व इतिहासको भयानक मध्येको एक युद्ध अन्त्य भएको १०० वर्ष पुगेको अवसरमा विश्वमा शान्ती स्थापनाका लागि एकीकृत प्रयास गरिनु पर्ने देखिएको छ । तर पछिल्लो समय परमाणु हतियारसहितका अरु कारणले शान्ती तथा स्थायित्व जोखिममा रहेको छ ।
