पत्ता लागेन निर्मलाको हत्यारा, आजदेखी धर्नाको सहारा
कञ्चनपुर- आज दिउँसो ११ बजे स्थानीय मदनचोकमा भेला भएर सयौँको सख्यामा र्यालीसहित प्रशासन कार्यालय पुगेर धर्ना सुरु हुँदैछ’ निर्मलाका बाबुले बताए ।
उनले धर्नामा नागरिक समाजका अगुवा, मानवअधिकारकर्मी, उद्योगी व्यवसायी महिलाअधिकारकर्मी र सर्वसाधारण सहभागि हुने जानकारी पनि दिए ।
राज्यले साढे तीन महिनासम्म पनि निर्मला पन्तका हत्यारा सार्वजनिक नगरेको भन्दै पन्तका बाबु यज्ञराजले आजबाट स्थानीय प्रशासनमा २४ सै घण्टा धर्ना दिने भएका छन् ।
साढे तीन महिनासम्म पनि सरकारले निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई सार्वजनिक गरेन, त्यहि भएर म धर्ना बस्न लागेको हो । कि त सरकारले निर्मला पन्तलाई न्याय दिन्न भन्नुपर्यो कि दिनुपर्यो मेरो सरकारलाई यहि सन्देश छ,’ यज्ञराजले भने ।
उनले निर्मला र आफुले न्याय पाउने आशमा चार महिना वित्न लागेको भन्दै सरकारले हत्यारा सार्वजनिक गर्न सक्दिन भनिदिए आफू आफ्नो व्यवसाय गरेर बस्ने बताए ।
म पानीपुरी र चटपटे बेचेर जीवन धान्दै आएको हुँ, घटनापछि मैले मेरो व्यवसाय पनि गर्न पाएको छैन, म आफै पनि बिरामी भइसकेको छु ।
तर, सरकारले न्याय दिने नाममा झुक्याइरहेको मलाई अनुभुति भएको छ । त्यसैले म अब, धर्ना हुदै अनसनसमेत बस्छु उनले भने, ‘सरकारले अहिलेसम्म झुक्याउने बाहेक केही गरेको छैन।
निर्मलाका बाबुले यसअघि गत कार्तिक १८ आफ्नै घर कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा पत्रकार सम्मेलन गरेर कार्तिक २५ गतेबाट धर्ना बस्ने घोषणा गरेका थिए ।
उनले पत्रकार सम्मेलनमा भनेका थिए ‘मेरो अरु केही माग छैन । म नयाय नपाउँदा डिप्रेशनको बिरामी भैसकेको छु ।’
निर्मला पन्त गत साउन १० गते साथी रोशनी बमको घरमा गएको बेला बलात्कारपछि हत्या भएको थियो । पन्तको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो ।
घटनाको छानविनका लागि केन्द्रीय तथा स्थानीय स्तरमा विभिन्न समिति गठन भएपनि हालसम्म निर्मला प्रकरणका खास दोषी पहिचानपछि सार्वजनिक गरिएको छैन । जसले गर्दा घटना थप रहस्यमय बन्दै गएको छ ।
