मिथिलाञ्चलमा मनाइने छठ पर्वको विधि आजबाट सुरू

काठमाडौं- सूर्यको उपासना गरी मिथिलाञ्चलमा मनाइने छठ पर्वको विधि आइतबार सुरू भएको छ। मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) अरबा–आज गरिन्छ। यसलाई नहाय–खाय भनिन्छ।

छठको पहिलो दिनदेखि व्रतालुले शुद्ध भोजन गरी व्रत बस्न थाल्छन्। पर्वको दोस्रो दिन (पञ्चमी) खरना गरिन्छ। यसलाई पापको क्षय पनि भनिन्छ। गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि रंग्याई व्रतालु दिनभरि निर्जला व्रत बस्छन्। बेलुकी चन्द्रमालाई खीर अर्पण गरी सोही प्रसाद खाने परम्परा छ।

तेस्रो दिन षष्ठी तिथिमा गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटीविभिन्न खाद्य सामग्री बनाइन्छ। फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्लो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य जलाशय पुग्छन् ।

परिकारहरू जलाशयको किनारमा राख्नुअघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक दण्डवत गर्छन्। त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरूप ‘अरिपन’ चित्र कोरेका हुन्छन्। त्यसपछि व्रतालुले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन्।

यस क्रममा व्रतीले दुवै हत्केलामा पिठार र सिन्दूर लगाई फूल अक्षता हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताउँदो सूर्यलाई अर्पण गर्छन्। चौथो तथा अन्तिम दिन बिहान व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याई सूर्यलाई अर्घ दिन्छन्। अर्घ सम्पन्न भएपछि सूर्यको गाथा श्रवण गरिन्छ।

छठ पर्वमा शुद्धता र निष्ठालाई महत्त्व दिइन्छ। यो पर्वमा चाहिने भाँडाकुडा र वस्तुको जोहो एक महिना अगाडिदेखि नै गर्ने चलन छ।