सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने: देउवा

काठमाडौ- प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’ को विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवाले काङ्ग्रेसमा एकता र मेलमिलाप आवश्यक रहेको बताएका हुन् ।

नेपालको प्रजातान्त्रिक र समाजवादी आन्दोलनमा सुवर्ण शमशेरको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उनले बिपी र सुवर्ण शमशेरले स्थापना गरेको मान्यता नै काङ्ग्रेसको मार्गदर्शक नीति भएको प्रष्ट पारे ।

सुवर्ण शमशेरको योगदानको विषयमा थप अनुसन्धान हुनुपर्ने बताउँदै सभापति देउवाले त्यो काम पार्टीले गर्ने जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथि काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सुवर्ण शमशेरले सङ्घर्षको अवस्थामा पनि पार्टीलाई नीति र विधिअनुसार सञ्चालन गरेको स्मरणा गरे ।

काङ्गेसमा एकता आवश्यक रहेको भन्दै नेता पौडेलले मुलुकको वर्तमान गम्भीर परिस्थितिलाई काङ्ग्रेसले आँकलन गर्न नसकेको र स्थिति यस्तै रहने हो भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनमा थप जटिलता आउने चेतावनी दिए ।