तत्कालीन किष्ट बैंकका प्रबन्ध-सञ्चालक कमल ज्ञवाली पक्राउ

काठमाडौं- तत्कालीन किष्ट बैंकका प्रबन्ध-सञ्चालक कमलप्रसाद ज्ञवाली पक्राउ परेका छन्।

जम्को प्रकाशनका नाममा सिद्धार्थ डेभलपमेन्ट बैंकबाट साढे १२ करोड रुपैयाँ ऋण लिई कर्जा अपचलन गरेको मुद्दामा २०७३ मा पुनरावेदन (अहिले उच्च) अदालत पाटनले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई दोषी ठहर गर्दै तीन वर्ष जेल सजाय सुनाएको थियो।

न्यायाधीशद्वय डिल्लीप्रसाद आचार्य र प्रमोदकुमार श्रेष्ठको संयुक्त इजालसले ज्ञवाली दम्पतीलाई ३/३ वर्ष जेल सजाय र ६ करोड २५ लाखर६ करोड २५ लाख रुपैयाँ बिगो जरिवानाको फैसला सुनाएको हो।

त्यसपछि फरार ज्ञवालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेपालै छाडेर भागेपछि ज्ञवालीविरुद्ध नेपाल प्रहरीले इन्टरपोल रेड नोटिस जारी थियो।

ज्ञवालीलाई पक्राउ गर्न प्रहरी निरीक्षक अनिल घिमिरे र सई रमन पण्डितको टोली भारत गएको थियो।

फैसला कार्यन्वयनका लागि उनी पक्राउ परेका हुन्। उनलाई नेपाल ल्याइँदैछ। उनलाई अदालतमा हाजिर गराइने छ।

‘उनलाई महेन्द्रनगरबाट पक्राउ गरेका छौं, अहिले उच्च उदालत पाटनमा हाजिर गराउने छौं,’ महानगरीय अपराध महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने। उनकी श्रीमती भने यसअघि नै पक्राउ परिसकेकी छन्।

सोही कर्जा प्रकरणमा संलग्न सिद्धार्थ डेभलपमेन्ट बैंकका कोमानन्द अधिकारीलाई ४ वर्ष जेल र ५ करोड ७४ लाख रुपैयाँ बिगो र धितो मुल्यांकनकर्ता किशोर ढकाललाई ४ वर्ष जेल र ५० लाख रुपैयाँ बिगो जरिवानाको फैसला अदालतले सुनाएको थियो।