चिसो छल्न चरा नेपाल भित्रिन थाले

काठमाडौँ – चिसो छल्न हिमाल पार गरेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा चिसो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो ।

उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा चिसो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनिधिले जानकारी गराए ।

यसरी आउने कतिपय चरा सगरमाथा नाघेर आउँछन् । कतिपय विभिन्न क्षेत्रबाट भित्रिन्छन् ।चिसोले पानी जम्छ र भएका किरा मर्छन्, त्यसैले जाडोबाट बच्न चरा नेपाल आउने हो । धेरै चरा आइसके, केही आउँदै छन् ।

सगरमाथा नाघेर आउने खोया हाँसले नौ हजार ३७५ मिटरमाथि उडान भरेको अभिलेख छ । हाँसमात्रै २२ बढी प्रजातिका आउँछन् । कतिपय चराले करीब पाँच हजार किलोमिटर दूरी पार गर्छन् ।

सामान्यतः यसरी बसाइ सरेर आउने चराले दुई, तीन हजार किमी दूरी पार गरेकै हुन्छन् ।

अहिलेसम्म सुइरोपुच्छ«े, बिजुलागैरी, सिन्दूरे, खडखडे, सुडसुडिया, टिकटिके, ट्याकट्याके चरा नेपाल भित्रिसकेको पाहुना चराले नेपालमा छदेखि आठ महीना बिताउँछन् । ठूलो चील महाचील मङ्गोलिया, चीन, साइबेरियाबाट आउँछ ।

असोजको पहिलो साताबाट चरा आउन थालेको हो । चितवन, कोशी, कपिलवस्तुको जगदीशपुर ताल, बर्दिया, शुक्लाफाँटालगायत सिमसार क्षेत्रमा बसाइँ सरेर आएका चरा देखिन थालेको छ ।

चितवनमा विभिन्न प्रजातिका चरा आइपुगेको वर्ड एजुकेसन सोसाइटी चितवनले जानकारी गरायो । वनजङ्गल र झाडीमा बस्ने चरा आउन थालेको छ ।जाडो छल्न बसाइँ सरेका पानी चरा काठमाडौँको वाग्मतीमा देखिन थालिसकेको छ । असोज चराका लागि बसाइँ सरेर आउने महत्वपूर्ण समय हो । असोजको अन्तिमसम्ममा यहाँ अधिकांश चरा आइसक्छन् । अभिलेखअनुसार १४९ प्रजातिका चरा नेपाल भित्रिन्छन् । आधा जति सिमसारमा बस्ने चरा हुन्छन् ।

कपिलवस्तुको जगदीशपुर तालमा नेपालमै बढी चरा पाइन्छन् । चराविद् टीका गिरी राम्रो वासस्थान भएकाले विभिन्न देशबाट चरा नेपालमा आउने बताउनुहुन्छ । उहाँका अनुसार चरा पर्यटनका लागि नेपाल उपयुक्त भए पनि सरकारको ध्यान यसतर्फ जान सकेको छैन ।

नेपालमा ८८७ प्रजातिका चरा पाइन्छन् । सबैभन्दा बढी प्रजाति चितवनमा भेटिन्छ । नेपाल सानो क्षेत्र भएकाले धेरैमाथिबाट उडान गर्ने चरा नेपाल नाघेरै अन्य देश पुग्ने चराविद् बताउँछन् ।