तुरतुरेमा गएको पहिरो र बडिगाड खोला निरीक्षण

बागलुङ- गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गएको सो पहिरो नियन्त्रण, ताल व्यवस्थापन र अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग चालु गर्न प्रदेश सरकारले पहल र समन्वय गर्ने बताउनुभयो ।

“प्राविधिक विषय भएकाले विज्ञको सुझावअनुसार अघि बढ्ने जानकारी दिँदै उहाँले नेपाली सेना र सडक विभागले पहिरोको स्थिति अध्ययन गरिरहेकाले छिट्टै समाधान निस्कने उहाँको भनाइ थियो । मन्त्री चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा गएको पहिरो निरीक्षण गर्नुभएको छ ।

मध्यरातमा गएको पहिरोले बडिगाड खोला थुनिँदा करीब एक किमी क्षेत्रमा कृत्रिम ताल बनेको छ । तत्काललाई जोखिम टरे पनि स्थानीयवासीमा भने त्रास कायमै छ ।

ताल भरिएर माथिबाट खोला बगेपछि ताल फुट्छ कि भन्ने चिन्ता छ । ताल पहिरो गएको ठाउँ तुरेतरेदेखि, सिमलचौर हुँदै ढोरपाटन नगरपालिकाको खल्टुबोटसम्म फैलिएको छ ।

बडिगाड थुनिएपछि पश्चिम बागलुङ र गुल्मी जिल्लाका तटीय बस्तीमा त्रास छाएको थियो । बागलुङको सिमलचौरका केही घरगोठसमेत डुबानमा परेका थिए । सोही पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अझै खुल्न सकेको छैन । लोकमार्ग निर्माणकर्ताले उक्त मार्ग चालु गर्न अझै केही समय लाग्ने जनाएको छ ।

नेपाली सेना र सडक विभागको विज्ञ समूहले पहिरो र तालको प्राविधिक अध्ययन गरिसकेको छ । शनिबार पुगेको नेपाली सेनाको प्राविधिक टोलीले तत्काल ताल फुटाउँदा तल्लो तटीय क्षेत्रका बस्तीमा क्षति पुग्न सक्ने निष्कर्ष निकालेको छ ।

प्राविधिक अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाइने र निर्देशनअनुसार अघि बढ्ने नेपाली सेनाले जनाएको छ ।