आनी छोइङको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट, भोलि पेसी
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
उक्त नियुक्ति गैरकानुनी तथा विधि र प्रक्रियाविपरीत भएको दाबी गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले रिट दायर गरेको हो।
अभियानका संयोजक सुनिल सिंह, विरजन विश्वकर्मा र सफलता बोगटीले संयुक्त रूपमा रिट निवेदन दर्ता गराएका हुन्। रिटमा नागरिकतासम्बन्धी विवाद तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेको अवस्थामा विधि र प्रक्रिया मिचेर नियुक्ति गरिएको दाबी गर्दै नियुक्ति खारेज गर्न माग गरिएको छ।
अभियानका सहसंयोजक अजय सोडारीका अनुसार नियुक्तिको वैधानिकतामाथि प्रश्न उठाउँदै संगठनले यसअघि सरकारलाई पटक-पटक ध्यानाकर्षण गराएको थियो। तर, सार्वजनिक चासो र आफूहरूले उठाएका प्रश्नलाई बेवास्ता गर्दै सरकारले डोल्मालाई दलबलसहित कोषमा उपस्थित गराएर कार्यभार सम्हाल्ने वातावरण बनाएको अभियानको आरोप छ।
नियुक्तिको कानुनी वैधता परीक्षण, विधिको शासन र कानुनी प्रक्रियाको सुनिश्चितताका लागि सर्वोच्चमा रिट दायर गरिएको अभियानले जनाएको छ।
रिटमाथि भोलि ९ गते सुनुवाइका लागि पेसी तोकिएको छ।
