सुनकोशी–मरिणको ठेक्का रद्दबारे कागजात पेस गर्न सरकारलाई लेखा समितिको ७ दिने अल्टिमेटम

ठेक्का विधिसम्मत ढंगले रद्द गरिएको सिँचाइ विभागका महानिर्देशकको दाबी

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारमा मंगलबार बसेको समितिको बैठकमा ठेक्का रद्दसम्बन्धी उजुरीमाथि छलफल गर्दै आवश्यक कागजात सात दिनभित्र समितिमा पेस गर्न निर्देशन दिइएको हो।

समितिका सभापति भरतबहादुर खड्काले राष्ट्रसेवक कर्मचारीलाई विधि, प्रक्रिया र प्रणालीभित्र रहेर काम गर्न आग्रह गर्दै ठेक्का रद्दसम्बन्धी सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिए। लोकतन्त्रका आधारभूत मान्यता विधि, पद्धति र प्रणाली भएकाले त्यसलाई पालना गर्नुपर्ने उनको भनाइ थियो। समितिको आफ्नै कार्यक्षेत्र रहेकाले सोहीअनुसार विषयमा चासो राखिएको उनले स्पष्ट पारे।

बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियाले प्रचलित कानुन र सार्वजनिक खरिदसम्बन्धी व्यवस्थाको पालना सुनिश्चित गर्न ठेक्का रद्द गरिएको दाबी गरे।

उनका अनुसार सार्वजनिक खरिद नियमावली संशोधनपछि बोलपत्रका कागजात र मूल्याङ्कनका आधार सच्याउनुपर्ने देखिएको थियो। भविष्यमा आउन सक्ने कानुनी तथा प्रक्रियागत जटिलतालाई समेत ध्यानमा राखेर ठेक्का रद्द गर्ने निर्णय गरिएको उनले बताए।

कानुनविपरीत हुन सक्ने खरिद प्रक्रिया अघि बढाउनुभन्दा कानुनसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रिया सुनिश्चित गर्नु निर्णयको उद्देश्य रहेको रजौरियाको भनाइ छ।

बैठकमा समिति सदस्यहरूले आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगिसकेको ठेक्का रद्द गर्नुको औचित्यबारे प्रश्न उठाएका थिए। उनीहरूले कुनै पनि बहानामा आयोजना अलपत्र पार्न नहुनेमा जोड दिए।

सांसद मनिष झाले सात वर्षदेखि आयोजना अन्योलमा रहेको उल्लेख गर्दै पुनः ठेक्का रद्द गरिए मधेश आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। मध्यतराईका नागरिकको मुख्य आर्थिक आधार कृषि भएकाले सिँचाइ आयोजनामा खेलबाड गर्न नहुने उनको भनाइ थियो।

त्यस्तै, सांसद खुस्बु ओलीले आर्थिक प्रस्ताव खोल्नुअघि नै बोलपत्र रद्द गर्नुपर्ने कारण स्पष्ट पार्न आयोजनासँग माग गरिन्। आर्थिक प्रस्ताव नखोल्दै राज्यलाई दुईदेखि तीन अर्ब रुपैयाँ घाटा हुने दाबी गरिएको विषयमा समेत उनले प्रश्न उठाइन्।

मध्यतराईमा सिँचाइ सुविधा विस्तार तथा विद्युत् उत्पादन गर्ने उद्देश्यले अघि बढाइएको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध र विद्युत् गृह निर्माणसम्बन्धी ठेक्का रद्द भएपछि समितिमा उजुरी परेको थियो।