प्रधानमन्त्री बालेनको भारत भ्रमणमा राष्ट्रिय मुद्दा ओझेलमा परे : शंकर पोखरेल
रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हितसँग जोडिएका महत्वपूर्ण मुद्दा ओझेलमा परेको टिप्पणी गरेका छन्। उनले हवाई रुटसम्बन्धी सहमति सकारात्मक भए पनि सीमा विवाद, सन् १९५० को सन्धि पुनरावलोकन र नेपाली उत्पादनको भारतीय बजार पहुँचका विषयमा ठोस प्रगति हुन नसकेको बताएका छन्।
प्रेस चौतारी नेपाल, दाङले आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले काठमाडौं महानगरपालिकामा ‘ग्रेटर नेपाल’को नक्सा राख्ने प्रधानमन्त्रीबाट सीमा समस्या र ऐतिहासिक सन्धिका विषयमा पहल हुने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए।
‘ग्रेटर नेपालको नक्सा काठमाडौं महानगरपालिकामा टाँसेर बस्ने प्रधानमन्त्रीले नेपाल–भारत सीमाका बारेमा छलफल गर्नुहोला भन्ने लागेको थियो। कम्तीमा सुगौली सन्धिपछिका विषयमा छलफल हुनुपर्थ्यो, तर त्यो विषय नै बनेन,’ उनले भने।
नेपालले लामो समयदेखि उठाउँदै आएको सन् १९५० को सन्धि पुनरावलोकनको विषय भ्रमणको प्राथमिकतामा नपरेको उनको भनाइ छ। नेपाली चिया, अलैँची र तरकारीले भारतीय बजारमा सहज पहुँच नपाइरहेको अवस्थामा त्यसको समाधान खोज्न सरकारले ध्यान नदिएको भन्दै उनले भारतबाट आउने उत्पादनले प्राथमिकता पाएको तर नेपाली उत्पादनको निर्यातमा चासो नदेखाएको टिप्पणी गरे।
हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक माने पनि त्यसको कार्यान्वयनमा पोखरेलले आशंका व्यक्त गरे। विगतमा पञ्चायतकालमा समेत यस्तै सहमति भएर कार्यान्वयन नभएको स्मरण गर्दै उनले यसपटक पनि कार्यान्वयन सुनिश्चित हुनुपर्ने बताए।
विदेशी ऋण लिनु हुँदैन भन्ने मान्यता राख्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले भारतबाट प्राप्त ऋणलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नु पुरानो दृष्टिकोणमा आएको परिवर्तन भएको पोखरेलले टिप्पणी गरे। उनले विदेशी ऋण लिनुपर्ने कुरा स्वयं प्रधानमन्त्रीले स्वीकार गरेको भन्दै विगतमा लोकतन्त्रका लागि संघर्ष गरेका दलहरूमाथि लगाइएका आरोप मिथ्या साबित भएको दाबी गरे। यद्यपि, एक्जिम बैंकको ऋण परिचालनमा देखिएका जटिलता र सडक निर्माणमा भएको ढिलाइले कार्यान्वयन चुनौतीपूर्ण रहेको उनको भनाइ छ।
पोखरेलले वर्तमान सरकार सुशासन र विकास दुवै क्षेत्रमा कमजोर रहेको आरोप लगाए। ‘नो लाइन’को नारा दिएर सत्तामा आएको सरकारले सेवा प्रवाहलाई व्यवस्थित गर्न नसकेको, विदेशिने युवाको संख्या बढेको, लगानीको वातावरण नबनेको र पुँजीगत खर्च कमजोर हुँदा विकास निर्माणले गति लिन नसकेको उनले बताए।
भोटेकोसी बाढीबाट विस्थापितको पुनर्स्थापना, विपद् व्यवस्थापन, बजार मूल्यवृद्धि तथा अराजकता नियन्त्रणमा समेत सरकार असफल भएको उनको आरोप छ। सरकार वास्तविक समस्या समाधानभन्दा सामाजिक सञ्जालमा केन्द्रित भएको टिप्पणी गर्दै उनले जनताका सरोकार सम्बोधन हुन नसकेको बताए।
सरकारप्रति बढ्दो निराशाले सामाजिक असन्तुष्टि र अराजकता निम्त्याउन सक्ने चेतावनी दिँदै पोखरेलले जनअसन्तुष्टि सम्बोधन नभए बंगलादेशको जस्तो अवस्था आउन सक्ने बताए। पुराना दलहरूले आफूलाई नयाँ विकल्पका रूपमा स्थापित गर्न नसके लोकतन्त्र नै संकटमा पर्न सक्ने उनको धारणा छ। जनतासँग टुटेको सम्बन्ध सुधार्न एमालेले राष्ट्रिय भेलामार्फत अभियान थालेको उनले जानकारी दिए।
संविधान संशोधन समय र आवश्यकताअनुसार गर्न सकिने भए पनि संघीय लोकतन्त्रको आधारभूत संरचना कमजोर पार्ने गरी संशोधन हुन नहुनेमा पोखरेलले जोड दिए। संसद् र राजनीतिक दललाई बेवास्ता गर्ने प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक नभएको टिप्पणी गर्दै उनले स्वेच्छाचारिता नियन्त्रण गर्न नसके रास्वपा आफैँ संकटमा पर्ने चेतावनी दिए। लोकतन्त्रको रक्षाका लागि एमाले अन्य दलसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ छ।
महासचिव पोखरेलले स्थानीय तहको निर्वाचन निर्धारित समयमै हुनुपर्नेमा एमाले स्पष्ट रहेको बताए। स्थानीय तहको कार्यकाल वैशाखमा र प्रदेशसभाको कार्यकाल मंसिरमा सकिने भएकाले दुवै निर्वाचन एकैपटक गर्न सम्भव नहुने उनको दाबी छ। सरकारले निर्वाचनबारे अन्योल सिर्जना गरेको आरोप लगाउँदै उनले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउनु स्वीकार्य नहुने बताए। निर्वाचन समयमा नभए राष्ट्रियसभा गठन, राष्ट्रपति निर्वाचन प्रक्रिया तथा संघीय लोकतन्त्रको आधारभूत संरचनामै असर पर्ने उनको भनाइ छ।
पोखरेलले आगामी स्थानीय निर्वाचनमा वामपन्थी शक्तिबीच चुनावी तालमेल हुन सक्ने संकेत पनि गरेका छन्। विगतमा माओवादीले एमाले र कांग्रेससँग गरेको तालमेलको अनुभवका आधारमा वामपन्थीबीच मत हस्तान्तरण र सहकार्य आवश्यक रहेको उनले बताए। यद्यपि, यसबारे औपचारिक छलफल भने भइनसकेको स्पष्ट पार्दै अनौपचारिक रूपमा तालमेलको विषय उठ्न थालेको जानकारी दिए।
