अटो भीरबाट खस्दा आमा, छोराछोरी र भतिजीको मृत्यु, गाउँ नै शोकमा
कञ्चनपुर । बझाङमा अटो रिक्सा दुर्घटनामा परी एकै परिवारका चार जनाको मृत्यु भएपछि बुङ्गल नगरपालिका–१० टुमेडा गाउँ शोकमा डुबेको छ।
सोमबार टुमेडाबाट बुङ्गल नगरपालिका–११ स्थित हिड्नेगडा बजारतर्फ जाँदै गरेको सुपप्र ०१–००१ ह ७९९८ नम्बरको अटो रिक्सा सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको थियो।
दुर्घटनामा बुङ्गल नगरपालिका–१० निवासी ३५ वर्षीया राजमति महरा, उनका सात वर्षीय छोरा रियास, दुई वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनका भतिजा विक्रम महराले भने अटोबाट हाम फालेर ज्यान जोगाएका छन्।
अटोमा चालकसहित ६ जना सवार थिए। दुर्घटनापछि प्रहरीले अटो चालक २५ वर्षीय टेकबहादुर पातलीलाई नियन्त्रणमा लिएको छ।
एकै परिवारका चार जनाको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको बुङ्गल नगरपालिका–१० का वडाध्यक्ष प्रेम ओखेडाले बताए।
‘पढाइका लागि बालबच्चा र भतिजीलाई लिएर डडेल्धुरा जान लाग्नुभएको रहेछ। बाटोमै यस्तो दुःखद घटना भयो। गाउँ नै शोकमग्न छ,’ उनले भने।
दसैँ–तिहारको बिदामा घर आएका राजमति आफ्ना छोराछोरी र भतिजीलाई लिएर डडेल्धुरा जान लागेकी थिइन्। उनका पति दीपक निमाविका स्थायी शिक्षक हुन्। उनी डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालय, बडालमा अध्यापन गराउँदै आएका थिए।
मृतक छोरा रियास र भतिजी तारा पनि सोही विद्यालयमा अध्ययनरत थिए। गत साउनमा दीपकको बुङ्गल नगरपालिका–८ स्थित सत्य माध्यमिक विद्यालय, तोलीचौरमा सरुवा भएको थियो।
श्रीमती, छोराछोरी र भतिजी एकैपटक गुमाएपछि दीपकलाई सम्हालिनसमेत कठिन भएको वडाध्यक्ष ओखेडाले बताए।
