रास्वपाका २० नेता ११ दिने भ्रमणका लागि आज चीन जाँदै
काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेताको प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा सांसदसहितको टोली चीन जान लागेको हो।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा हुन लागेको भ्रमण ११ दिनको हुनेछ। भ्रमणमा जान लागेको टोलीलाई आज बिहान ९ बजे विमानस्थलमा रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
महामन्त्री आचार्यको नेतृत्वमा जाने टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली र प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीसहित २० जना रहेका छन्।
टोलीमा सांसदहरू लिमा अधिकारी, समीक्षा बाँस्कोटा, सागर ढकाल, डा. आनन्दबहादुर चन्द, सुशान्त वैदिक, रिमा विश्वकर्मा, डा. धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, डा. राम लामा, गजला शमिम मिकरानी, पुनम अग्रवाल, रत्ना थापा, डा. सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रमेश सापकोटा सहभागी हुनेछन्।
भ्रमणका क्रममा प्रतिनिधिमण्डलले बेइजिङ, हाङचोउ र सिचुवानलगायत चीनका विभिन्न सहरको अवलोकन गर्ने कार्यक्रम छ।
भ्रमण टोलीका सदस्य एवं रास्वपाको विज्ञान, सूचना प्रविधि, नवप्रवर्तन तथा स्टार्टअप विभागका प्रमुख आनन्दबहादुर चन्दले चीनले नवप्रवर्तन र प्रविधिको क्षेत्रमा हासिल गरेको उपलब्धिबारे अध्ययन गर्ने उद्देश्य रहेको बताएका छन्।
उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई), मेसिन लर्निङ, डिजिटल प्रविधि, औद्योगिक विकास तथा नवप्रवर्तनका क्षेत्रमा चीनले अपनाएका नीति र संस्थागत अभ्यासबारे टोलीले जानकारी लिनेछ। त्यहाँबाट प्राप्त प्रविधि र अनुभवलाई नेपालको आवश्यकता र क्षमताअनुसार कृषि आधुनिकीकरण, स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा प्रवाह, औद्योगिक उत्पादन र उद्यमशीलताको विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने उनले बताएका छन्।
त्यस्तै, भ्रमण टोलीका सदस्य डा. धनञ्जय रेग्मीले दुई देशबीच आपसी समझदारी र सम्बन्ध विस्तारका लागि भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका छन्। भ्रमणले आर्थिक, प्राविधिक तथा विकासका क्षेत्रमा दीर्घकालीन सहकार्यको आधार तयार गर्नुका साथै राजनीतिक सम्बन्ध सुदृढीकरण र भावी उच्चस्तरीय भ्रमणको तयारीमा सहयोग पुग्ने उनको अपेक्षा छ।
चीन प्रस्थान गर्नुअघि प्रतिनिधिमण्डलका सदस्यहरूले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेसँग छुट्टाछुट्टै भेटघाट गरेका थिए।
