स्थानीय तहको निर्वाचन समयमै हुनेमा कांग्रेस महामन्त्री पौडेलको आशंका
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गराउनेमा आशंका व्यक्त गरेका छन्।
जनकपुर पुगेका महामन्त्री पौडेलले चैतमा निर्वाचन हुने वा नहुने विषयमै अन्योल देखिएको भन्दै स्थानीय तहलाई निर्वाचनविहीन बनाउने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरे।
उनले सरकारले निर्वाचन प्रणाली परिवर्तनका लागि आवश्यक गृहकार्यसमेत नगरेको बताए।
‘चैतमा चुनाव हुन्छ कि हुँदैन भन्ने संशय भइसकेको छ। समयमा चुनाव नगराएर स्थानीय तहलाई नै चुनावविहीन बनाउनुहुन्छ कि भन्ने चिन्ता छ। आन्तरिक रूपमा के भइरहेको छ भन्ने कुरा आम जनता र अन्य राजनीतिक दललाई थाहा हुने विषय पनि भएन। त्यसैले तोकिएको समयभित्र चुनाव गराउनु नै अहिले ठूलो कुरा भइसकेको छ,’ पौडेलले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अघि सारेजस्तो निर्दलीय निर्वाचन प्रणालीभन्दा पनि पार्टीगत प्रतिस्पर्धाको सट्टा स्वतन्त्र उम्मेदवारबीच प्रतिस्पर्धा हुने व्यवस्था बनाउन संविधान नै संशोधन गर्नुपर्ने उनको भनाइ छ।
सरकारले निर्वाचन प्रणाली परिवर्तनका लागि कुनै तयारी नगरेको आरोप लगाउँदै पौडेलले संविधान संशोधनको विषयमा सरकारको प्रतिबद्धतामाथि प्रश्न उठाए।
‘सरकारले कुनै पनि गृहकार्य गरेको छैन। त्यो उहाँहरूको चाहना नै हो जस्तो मलाई लाग्दैन। संविधान परिवर्तन यो सरकारले मात्रै गर्न सक्छ? उहाँहरूले संविधान सुधार कार्यदल भनेर बनाउनुभयो, बहसका लागि एउटा समिति गठन गर्नुभयो,’ उनले भने।
निर्वाचन प्रणाली परिवर्तनको विषयमा सरकारले वास्तविक काम नगरी अरूले साथ दिएनन् भन्ने देखाउन मात्रै खोजेको उनको आरोप छ।
‘उहाँहरूले न संविधान परिवर्तन गर्न खोज्नुभएको हो, न निर्वाचन प्रणाली बदल्न। त्यसका लागि आवश्यक तयारी गर्नुपर्छ। जिम्मेवारी कसको हो, नेतृत्व कसले गर्ने हो भन्ने स्पष्ट हुनुपर्छ। हल्ला गरेर र एक ठाउँमा बोलेर मात्रै हुँदैन,’ पौडेलले भने।
