ह्वाइट हाउसनजिक गोली चल्दा आक्रमणकारीसहित दुई जनाको मृत्यु, चार घाइते
काठमाडौं । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा ह्वाइट हाउसनजिकै गोली चल्दा आक्रमणकारीसहित दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बिहीबार बिहान भएको घटनामा गोली चलाउने व्यक्तिसमेत दुई जनाको मृत्यु भएको वासिङ्टन डीसी प्रहरी प्रवक्ताले बीबीसीलाई बताएका छन्।
घटनापछि आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले आफैँलाई गोली हानेको हुन सक्ने बताएका छन्। वासिङ्टन डीसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलका अनुसार घटनाको सूचना पाएको ३० सेकेन्डभित्रै प्रहरी घटनास्थल पुगेको थियो।
ह्वाइट हाउसबाट करिब १.६ किलोमिटर टाढा गोली चलेको हो। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी) का अनुसार आक्रमणकारीले सुरुमा एउटा फिटनेस सेन्टरभित्र एक व्यक्तिमाथि गोली प्रहार गरेका थिए। त्यसपछि जिमबाट बाहिर निस्किएर पार्किङ ग्यारेजमा समेत गोली चलाएका थिए। त्यहाँ अर्का एक व्यक्ति गोली लागेर घाइते भएका थिए।
गोली चलेपछि आसपासको क्षेत्रमा भागदौड मच्चिएको थियो। ज्यान जोगाउन मानिसहरू पसल तथा घरभित्र लुकेका थिए। प्रहरीले तत्कालै घटनास्थल आसपासको क्षेत्र घेराबन्दी गरी सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको थियो।
प्रहरीले स्थानीय समयअनुसार बिहीबार बिहान करिब ८ बजे गोली चलेको सूचना प्राप्त गरेको जनाएको छ। घटनामा घाइते भएका चारै जनालाई उपचारका लागि अस्पताल लगिएको छ। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गोली चलाउने व्यक्ति गोरा पुरुष हुन्। प्रारम्भिक अनुसन्धानमा अपार्टमेन्ट भवनको घरधनी संघसँगको विवाद घटनाको कारण हुन सक्ने आशंका गरिएको छ।
यद्यपि गोली चलाउनुको वास्तविक कारण अझै पुष्टि भएको छैन। अनुसन्धानकर्ताहरूले आक्रमणकारीको पृष्ठभूमि, सम्भावित विवाद र घटनाको कारणबारे थप अनुसन्धान गरिरहेका छन्।
