गुल्मीमा असिनापानीले पाक्न लागेको धानबालीमा ठूलो क्षति
गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसान तिहारको भाइटीकाका दिन परेको असिनापानीले चिन्तित बनेका छन्। असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ स्थित भराह र गुर्वा क्षेत्रमा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ।
गुर्वामा मात्रै करिब ४०० रोपनी क्षेत्रफलमा लगाइएको धानबाली असिनापानीले नष्ट गरेको स्थानीयले बताएका छन्। पाकेर काट्ने तयारीमा रहेको धान असिनाले झारेपछि किसानले ठूलो नोक्सानी बेहोर्नुपरेको छ।
स्थानीय कृषक पदम खत्रीको करिब १०० रोपनी क्षेत्रफलमा लगाइएको धानबालीमा समेत क्षति पुगेको छ। आफ्नो जग्गासँगै अरूको जग्गा भाडामा लिएर धान खेती गर्दै आएका खत्री केही दिनभित्रै धान काटेर भित्र्याउने तयारीमा थिए।
यस वर्ष धान उत्पादन राम्रो हुने अपेक्षा गरिए पनि अन्तिम समयमा परेको असिनापानीले वर्षभरिको मेहनत खेर जाने अवस्था आएको उनले बताए। धान राम्रो फलेको अवस्थामा असिनाले क्षति पुर्याउँदा आफूहरूलाई ठूलो आर्थिक नोक्सानी भएको उनको भनाइ छ।
गुर्वामा मात्रै नभई जिल्लाका अन्य स्थानमा समेत असिनापानीले धानबालीमा क्षति पुर्याएको छ। तिहार सकिएसँगै जिल्लाका किसान धान काट्ने र भित्र्याउने चटारोमा जुटिरहेका बेला प्राकृतिक विपत्तिले उनीहरूको मेहनतमा असर पारेको हो।
जिल्लाका विभिन्न फाँटमा धान पाकेर पहेँलपुर भएका छन्। भित्र्याउने बेलामा परेको असिनापानीले उत्पादन घट्ने र किसानको आम्दानीमा असर पर्ने देखिएको छ।
कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार जिल्लामा कुल ९ हजार १५३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ। त्यसमध्ये ४४५ हेक्टरमा चैते धान खेती गरिन्छ। जिल्लामा रामधान, खुमल–४, खुमल–६, खुमल–८, खुमल–१०, हंसराज, मकवानपुर–१, हर्दिनाथ, आँप झोते, जडन र लामे जातका धान लगाउने गरिएको छ। यसका साथै च्याम्पियन, शंकर र उपजलगायतका हाइब्रिड जात पनि खेती हुँदै आएका छन्।
जिल्लामा ३ हजार ६२६ हेक्टर क्षेत्रफलमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ भने ६ हजार ६९० हेक्टरमा आंशिक सिँचाइको व्यवस्था रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। सिँचाइ सुविधा पर्याप्त नहुँदा धेरै किसान अझै पनि आकाशे पानीमा निर्भर छन्।
गुल्मीका सबै स्थानीय तहमा धान खेती हुने भए पनि इस्मा गाउँपालिकाको छल्दी र चौरासी क्षेत्र, धुर्कोटका विभिन्न फाँट, मालिका गाउँपालिकाको अर्जेबेसी, मुसिकोटका फाँट तथा सत्यवती र चन्द्रकोट गाउँपालिकाका ठूला फाँट धान उत्पादनका प्रमुख क्षेत्र मानिन्छन्।
यी क्षेत्रमा धान खेती स्थानीय किसानको जीविकोपार्जन र खाद्यान्न आपूर्तिको महत्त्वपूर्ण आधार बनेको छ। तर, यस वर्ष भित्र्याउने बेलामा परेको असिनापानीले धानबालीमा क्षति पुर्याएपछि किसानको आम्दानीसँगै जिल्लाको समग्र धान उत्पादनमा समेत असर पर्ने देखिएको छ।
