सभापति थापालाई पक्राउ गरे कांग्रेस चुप लागेर बस्दैन : महामन्त्री राणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने प्रयास भए कांग्रेसले सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका छन्।

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको सरसफाइ तथा फूल रोप्ने कार्यक्रमपछि आयोजित कार्यक्रममा बोल्दै राणाले सरकारमाथि राजनीतिक प्रतिशोधका आधारमा पक्राउ तथा धरपकड गर्न खोजेको आरोप लगाए।

उनले बिचौलिया भनिएका इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे। सरकारले थापामाथि कुनै पनि प्रतिशोधपूर्ण कदम चाले पार्टी चुप लागेर नबस्ने भन्दै उनले नेता तथा कार्यकर्तालाई एकजुट हुन आह्वान गरे।

राणाले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई गैरकानुनी रूपमा व्यक्तिहरू पक्राउ गर्न सरकारले दबाब दिएको आरोपसमेत लगाए। आफूलाई मन नपरेका राजनीतिक नेता, व्यवसायी तथा कर्मचारीलाई कानुनी प्रक्रिया मिचेर पक्राउ गर्न खोजिएको र त्यसका लागि प्रहरी नेतृत्वलाई प्रयोग गर्न खोजिएको उनको दाबी थियो।

गैरकानुनी पक्राउ गर्न नमानेपछि सरकारले आईजीपी कार्कीलाई पदबाट हटाएको राणाले आरोप लगाए। सुरक्षा निकायलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु लोकतन्त्र र विधिको शासनका लागि गम्भीर विषय भएको उनको भनाइ थियो।

राणाले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका गतिविधि लोकतान्त्रिक मूल्य, नागरिक अधिकार र विधिको शासनविपरीत रहेको आरोप लगाए। व्यवसायी, राजनीतिक दलका नेता तथा कर्मचारीमाथि भइरहेको धरपकड र राज्यशक्तिको दुरुपयोग रोक्नुपर्ने उनले बताए।

सरकारले सञ्चार क्षेत्रमाथि समेत दबाब र हस्तक्षेप बढाएको आरोप लगाउँदै उनले सञ्चारगृहमा प्रहरी पठाएर सञ्चारकर्मी पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाए। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उनले न्यायालयमाथि पनि प्रभाव पार्ने प्रयास भइरहेको दाबी गरे।

लोकतन्त्र, विधिको शासन र नागरिक अधिकारको संरक्षणका लागि सबै राजनीतिक शक्ति तथा सचेत नागरिक एकजुट हुनुपर्ने उनको भनाइ थियो।

‘सभापति गगनकुमार थापामाथि सरकारले कुनै पनि गलत कदम चाल्यो भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन,’ राणाले भने, ‘त्यस्तो कदमको दृढतापूर्वक प्रतिरोध गर्छौं।’