फरक तौलका ग्यास सिलिन्डर ल्याउन दुई वर्ष लाग्ने उद्योगीको भनाइ

काठमाडौं । नेपाल आयल निगमले व्यावसायिक प्रयोजनका लागि छुट्टै ग्यास सिलिन्डर र दोहोरो मूल्य प्रणाली लागू गर्ने प्रस्ताव गरेपछि ग्यास उद्योगीले तत्काल कार्यान्वयन गर्न नसकिने बताएका छन्। फरक तौलका सिलिन्डर प्रयोगमा ल्याउनुपर्ने भए तयारीका लागि कम्तीमा दुई वर्ष समय दिनुपर्ने उनीहरूको माग छ।

नेपाल एलपी ग्यास उद्योग संघले बिहीबार निगमलाई तीनबुँदे लिखित धारणा बुझाउँदै प्रस्तावित व्यवस्थामा विकल्पसमेत प्रस्तुत गरेको छ।

निगमले व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलका सिलिन्डर प्रयोगमा ल्याउने र कुल ग्यासको ३० प्रतिशत व्यावसायिक प्रयोजनमा पठाउने प्रस्ताव गरेको थियो। तर, उद्योगीले हाललाई ३० प्रतिशतको सट्टा १० प्रतिशत ग्यास मात्र व्यावसायिक कोटामा छुट्याउन आग्रह गरेका छन्।

फरक तौलका सिलिन्डर ल्याउनुको सट्टा हाल बजारमा प्रचलित १४.२ किलोका सिलिन्डरलाई रङका आधारमा छुट्याउनुपर्ने संघको प्रस्ताव छ। जसअनुसार घरायसी प्रयोजनका लागि रातो र व्यावसायिक प्रयोजनका लागि नीलो रङका सिलिन्डर प्रयोग गर्नुपर्ने माग गरिएको छ।

संघका अध्यक्ष दिवान चन्दले बजारमा रहेका सिलिन्डर तत्काल विस्थापन गर्दा उद्योगीलाई ठूलो आर्थिक भार पर्ने र व्यवस्थापकीय समस्या उत्पन्न हुने बताए। सरकारले फरक तौलका सिलिन्डर ल्याउने निर्णयमा अडान लिए कम्तीमा दुई वर्षको समय आवश्यक पर्ने उनको भनाइ छ।

उद्योगीले ग्यास परल मूल्यमा बिक्री गरी लक्षित वर्गलाई मात्र वाणिज्य बैंकमार्फत अनुदान उपलब्ध गराउन पनि माग गरेका छन्। बजारको अवस्था हेरेर व्यावसायिक कोटाको हिस्सा भविष्यमा थपघट गर्न सकिने संघको धारणा छ।

यसैगरी, संघले निगमसँग २०८१ फागुन २० गते भएको सम्झौताको बुँदा नम्बर ३ कार्यान्वयन गर्न माग गरेको छ। तत्कालीन वाणिज्य तथा आपूर्ति सचिव एवं निगम सञ्चालक समिति अध्यक्ष गोविन्दबहादुर कार्कीको उपस्थितिमा भएको उक्त सम्झौताअनुसार उद्योगीको मुनाफा प्रतिशतका आधारमा कायम गर्ने व्यवस्था यथाशीघ्र लागू गर्न संघले आग्रह गरेको छ।

निगम र उद्योगीबीच ग्यासको मूल्य, अनुदान तथा व्यावसायिक कोटासम्बन्धी प्रस्तावमा छलफल जारी छ।