आन्दोलनका लागि तयार रहन नेता/कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको दाबी गर्दै देशको रक्षाका लागि आन्दोलनको तयारीमा रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आन्दोलनबाट पछि हटे देशको रक्षा गर्न नसकिने बताए। उनले तत्काल वा तिहार तथा छठपछि आवश्यकताअनुसार आन्दोलनमा उत्रन सक्ने गरी मानसिक र सांगठनिक तयारी गर्न आग्रह गरे।
‘देश क्रिटिकल अवस्थामा छ। यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ। यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ,’ ओलीले भने, ‘यति असहज र अप्ठ्यारो स्थिति छ, आन्दोलनबाहेक अर्को कुराबाट हामी जान खोज्यौँ भने, आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ।’
ओलीले सरकारमाथि बलजफ्ती ढंगले अघि बढेको आरोप लगाउँदै लोकतन्त्र र शान्तिको कुरा गर्ने दक्षिणपन्थी शक्तिहरूले जनतालाई धोका दिइरहेको दाबी गरे। उनले सरकारको कार्यशैली र प्रहरीको गतिविधिप्रति पनि असन्तुष्टि व्यक्त गरे।
प्रहरीले बिनाबर्दी पक्राउ गर्न जाने र बलजफ्ती घरमा प्रवेश गर्ने गरेको आरोप लगाउँदै उनले प्रश्न गरे, ‘पुलिससँग ड्रेस छैन? ड्रेस नलगाएर, आवारा हो पुलिस? गुण्डा हो पुलिस?’
उनले सरकारमाथि पक्राउ र गिरफ्तारीमार्फत नागरिकलाई बोल्नसमेत कठिन हुने अवस्था सिर्जना गरेको आरोप लगाए। सरकार फाँसीवादतर्फ अघि बढिरहेको टिप्पणी गर्दै ओलीले राज्यका निकायले स्वतन्त्रताको प्रयोग गर्न नसक्ने अवस्था आएको दाबी गरे।
‘एनार्किस्ट राज्य छ, फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ। यस्तो अवस्थामा सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको अवस्थामा हामी छौँ,’ उनले भने, ‘हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन।’
ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन पनि निर्देशन दिए। उनले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेलाई कमजोर बनाउने प्रयासलाई असफल पार्ने गरी चुनावी तयारीमा जुट्न आग्रह गरे।
‘चुनाव आउँदैछ। जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवास्वप्नमा परिणत गरिदिनुपर्छ,’ ओलीले भने।
उनले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा एमालेविहीन देश बनाउने योजनालाई दिवास्वप्नमा परिणत गर्ने गरी पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
