बूढीगण्डकी बाढीमा पाँच जना सम्पर्कविहीन, पुल, घर र विद्युत् संरचनामा क्षति

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीमा परी पाँच जना सम्पर्कविहीन भएका छन्। बाढीले दर्जनौँ भौतिक संरचना बगाउनुका साथै घर, पुल, जलविद्युत् आयोजना र विद्युत् तथा सञ्चार संरचनामा क्षति पुर्‍याएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेर बूढीगण्डकी नदी थुनिएको थियो। नदी थुनिएपछि आइतबार बिहान लेदोसहितको बाढी आएको हो।

बाढीका कारण चुमनुब्री गाउँपालिका–६ स्थित चुम्चेतको उङिलुङमा भेडीगोठमा रहेका दुई महिला र तीन पुरुष सम्पर्कविहीन भएका छन्। उनीहरूको खोजी भइरहेको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रबाट हालसम्म ४७ जनाको उद्धार गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा खोज तथा उद्धार कार्यमा जुटेका छन्।

कहाँ कति क्षति?

प्राधिकरणका अनुसार बाढीले गोरखाका विभिन्न स्थानमा पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

– चुमनुब्री गाउँपालिका–३, न्याकचेत: न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। एउटा घर बगेको छ भने अर्को घरमा बाढी पसेको छ।

– धार्चे गाउँपालिका–५, माछीखोला: माछीखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल बगाएको छ।

– धार्चे गाउँपालिका–३, सल्लेरी: निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको आयोजनास्थल र आसपासका आठवटा घर बगाएको छ।

– आरुघाट गाउँपालिका–९, नयाँपुल: गोरखाको आरुघाट र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भाग बगाएको छ।

– आरुघाट–९, माछीखोलाको तल्लो बस्ती: बाढी बस्तीमा पसेपछि २२ वटा घर जोखिममा परेका छन्।

– आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोती: त्यहाँ रहेको फलामे पक्की पुल बाढीले बगाएको छ।

– बूढीगण्डकी जलविद्युत् आयोजना: ३४१ मेगावाट क्षमताको आयोजनाको मुख्य क्याम्प क्षेत्रमा क्षति पुगेको छ भने केही निर्माण उपकरण बगाएको छ।

– विद्युत् तथा सञ्चार संरचना: प्रारम्भिक विवरणअनुसार दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत्का पोलमा क्षति पुगेको छ।

तटीय क्षेत्रमा अझै जोखिम

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार बूढीगण्डकी नदीको तटीय क्षेत्रमा आइतबार साँझसम्म पनि जोखिम कायम छ।

प्राधिकरणले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा बस्न, जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।

बाढीबाट भएको क्षतिको विस्तृत विवरण संकलन तथा खोज र उद्धार कार्य जारी रहेको छ।