बूढीगण्डकी बाढी : ४७ जनाको उद्धार, पुलदेखि घर र जलविद्युत् आयोजनासम्म क्षति
काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा फसेका ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। बाढीले झोलुङ्गे तथा पक्की पुल, घर र जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरी उद्धार तथा क्षतिको विवरण सार्वजनिक गरेको हो।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीका अनुसार खोज तथा उद्धारका लागि नेपाली सेनाका चारवटा हेलिकोप्टरसहित ३८६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका १२७, नेपाल प्रहरीका ८३ र सशस्त्र प्रहरी बलका १७७ जना छन्।
पुल र बस्तीमा क्षति
बाढीले चुमनुब्री गाउँपालिका–३ न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही क्षेत्रमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको प्राधिकरणले जनाएको छ।
त्यस्तै, धार्चे गाउँपालिका–५ माछीखोलाबाट करौँजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। धार्चे–३ सल्लेरीस्थित निर्माणाधीन सहज ऊर्जा पावर हाउस र आसपासका सातदेखि आठवटा घर बगाएको सूचना प्राप्त भएको छ।
आरूघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको भागसमेत बाढीले बगाएको छ। आरूघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ।
माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि २० भन्दा बढी घर जोखिममा परेका छन्।
जलविद्युत् आयोजनामा पनि क्षति
बाढीले बूढीगण्डकी ३४१ मेगावाट आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण बगाएको छ। त्यस्तै, दोभान खोला २४.५ मेगावाट आयोजनाको क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ भने बेली ब्रिजसमेत बगाएको प्राधिकरणले जनाएको छ।
बाढीको वास्तविक कारण पत्ता लगाउन र क्षतिग्रस्त पुलहरूको अवस्था अध्ययन गर्न प्राधिकरण तथा सडक विभागको प्राविधिक टोली ड्रोनसहित प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ।
