पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाउने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ सादगीपूर्वक मनाउने निर्णय गरेका छन्। राष्ट्रिय विपत्तिका कारण उनले यस वर्ष विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा नलगाइदिने भएका हुन्।

निर्मल निवासस्थित संवाद सचिवालयले जारी गरेको सूचनामा भदौमा हिमपहिरोपछि आएको भीषण बाढी तथा असोजमा भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको उल्लेख छ। विपत्तिका कारण हजारौँ मानिस विस्थापित हुनुका साथै सयौँको ज्यान गएको अवस्थालाई मध्यनजर गर्दै दसैँ सादगीपूर्वक मनाउने निर्णय गरिएको सूचनामा जनाइएको छ।

सचिवालयका अनुसार आस्था, मान्यता र मर्यादालाई कायम राख्दै यस वर्षको बडादसैँ सादगीपूर्ण रूपमा मनाइनेछ। साथै, विजया दशमीका दिन सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम नराखिएको जानकारी दिइएको छ।

राष्ट्रिय विपत्तिका कारण प्रभावित नागरिकप्रति संवेदनशीलता व्यक्त गर्दै पूर्वराजाले यस वर्ष दसैँको टीका कार्यक्रम स्थगित गरेका हुन्।