यसपटक कुनै प्यानल छैन, अफवाहमा नलाग्नुहोला : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो नाम जोडेर प्रचार गरिएका उम्मेदवारहरूको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह गरेका छन् । उनले यसपटक पार्टीको निर्वाचनमा कुनै पनि प्यानल वा गुट नरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारको सूची प्रचार भइरहेकोप्रति ध्यानाकर्षण गराएका हुन् ।
‘यसपटक कुनै पनि प्यानल वा गुट छैन । मेरो नाम जोडेर आएको सूची भनी प्रचार गरिएका कुनै पनि उम्मेदवारहरूको सूचीलाई मेरो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझिदिनुहुन आग्रह गर्दछु,’ उनले भनेका छन् ।
थापाले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको निर्वाचनमा महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि अफवाह वा भ्रममा नपरी मतदान गर्न आग्रह गरेका छन् ।
पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै आफ्नो स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा उम्मेदवार छनोट गर्न आग्रह गर्दै उनले निर्वाचन प्रक्रियामा मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन प्रतिनिधिहरूलाई अनुरोध गरेका छन् ।
प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै थापाले निर्वाचनमा भएको ढिलाइका कारण प्रतिनिधिहरूलाई परेको असुविधाप्रति क्षमासमेत मागेका छन् ।
