सरकार नागरिकप्रति उत्तरदायी नभई स्टन्टबाजीमा केन्द्रित भएको ओलीको आरोप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार नागरिकप्रति उत्तरदायी हुन नसकेको र स्टन्टबाजीमा केन्द्रित भएको आरोप लगाएका छन्।
पार्टीको ‘मिसन पार्टी जागरण अभियान’ तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले विपद्का बेला सरकारको कामकारबाहीप्रति प्रश्न उठाएका हुन्। उनले सरकारमा सबै दललाई समेटेर सर्वदलीय समिति गठन गर्ने फराकिलो सोचसमेत नदेखिएको टिप्पणी गरे।
विगतमा भोटेकोशी र त्रिशूलीमा बाढी आउँदा हेलिकोप्टरको दुरुपयोग भएको र राहत तथा उद्धारका काम समयमै हुन नसकेको ओलीको आरोप थियो। यसपटक त्यस्ता कमजोरी नदोहोर्याउन उनले सरकारलाई आग्रह गरे।
‘सरकारले पहिले भोटेकोशी, त्रिशूलीमा बाढी जाँदा हेलिकोप्टरको दुरुपयोग गरेको छ। राहत, उद्धारका कार्य समयमा भएका छैनन्। यसपटक त्यो नदोहोरियोस्। सरकारले फराकिलो बनाओस्,’ उनले भने।
केही मन्त्रीले सरकारी हेलिकोप्टरलाई कुनै संस्थाको निजी सम्पत्तिजस्तो गरी दुरुपयोग गरेको आरोप पनि ओलीले लगाए। हेलिकोप्टर चढ्ने अवसर पाएजस्तो गरी मन्त्रीहरूले त्यसको प्रयोग गरेको उनको टिप्पणी थियो।
उनले विगतमा वैदेशिक सहयोगको उचित सदुपयोग हुन नसकेको र सहयोग समयमै स्वीकार नगरिँदा उद्धारमा ढिलाइ भएको दाबी गरे। उद्धारको अभावमा धेरै नागरिकले ज्यान गुमाउनुपरेको हुन सक्ने भन्दै उनले यसपटक त्यस्तो अवस्था आउन नदिन सरकारलाई सचेत गराए।
